अन्ततः फास्ट ट्रयाकमा आर्थिक प्रतिस्पर्धाविना नै १२ अर्बको ठेक्का दिइँदै

काठमाडौं । नेपाली सेनाले अन्ततस: काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत फेज–टु खण्डमा आर्थिक प्रतिस्पर्धाविना नै करिब १२ अर्बको ठेक्का लगाउने भएको छ । प्रतिस्पर्धाको विकल्प बन्द भएकाले राज्यलाई ठूलो आर्थिक क्षति भएको छ ।

टेन्डरमा सहभागी हुन सेनाले यसअघि नै फेज– वानका लागि दुई र फेज– टुका लागि एक कम्पनी छनोट गरिसकेको छ । फेज– वानमा दुईवटा कम्पनीबीच दरभाउमा प्रतिस्पर्धा हुनेछ भने फेज– टुमा एउटा मात्रै कम्पनी छनोट भएकाले आर्थिक प्रतिस्पर्धा नै हुनेछैन ।

फास्ट ट्रयाकको ७२।५ किलोमिटरअन्तर्गत करिब एक खर्ब ७५ अर्ब खर्च हुने अनुमान छ । सुरुङ र जटिल प्रकृतिका पुल बनाउने कामलाई सेनाले दुई भागमा विभाजन गरेको छ । फेज– वानका लागि २३ अर्ब ४० करोड र फेज– टुका लागि ११ अर्ब ७० करोड लागत अनुमान छ । दुवै फेजमा सुरुङ र जटिल प्रकारका पुल बनाउने काम छ । फेज– वानका लागि २१ र फेज– टुका लागि २२ अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

सेनाले टेन्डर आह्वान गर्न सम्पूर्ण विवरण सार्वजनिक खरिद अनुगमन कार्यालय ९पिपिएमओ०मा पठाइसकेको छ । त्यहाँबाट स्वीकृत हुनासाथ टेन्डर आह्वान गरिनेछ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले हप्ता दिनभित्रै फास्ट ट्र्याकअन्तर्गत सुरुङ र पुल निर्माणको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुने बताए ।

‘फास्ट ट्र्याकअन्तर्गतको सुरुङ र पुल निर्माणका लागि कम्पनीहरूको सर्टलिस्ट भइसकेको छ । अब बोलपत्र आह्वान हुन्छ । यसका लागि हामीले डकुमेन्ट पिपिएमओमा पठाएका छौँ । त्यहाँबाट हप्ता दिनभित्र स्वीकृत हुने संकेत पाएका छौँ,’ प्रवक्ता पौडेलले भने, ‘पिपिएमओबाट स्वीकृत हुनासाथ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुनेछ । त्यसपछि फास्ट ट्र्याक निर्माणले नयाँ चरणमा प्रवेश पाउनेछ ।’

सेनाका अनुसार प्रतिस्पर्धामा पूर्वयोग्यता निर्धारणमा छनोट भएका कम्पनीले मात्रै भाग लिन पाउनेछन् । फेज– टुका लागि छनोट भएको एक मात्र चिनियाँ कम्पनी पोली चन्डा इन्जिनियरिङ कम्पनीले ठेक्का पाउने पक्का छ । फेज– वानतर्फ चिनियाँ कम्पनी पोली चन्डा इन्जिनियरिङ र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ छनोट भएका छन् । उनीहरूबीचको प्रतिस्पर्धामा जसले कम मूल्य कबोल गर्छ, उसैले ठेक्का पाउनेछ । ‘अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान हुनेछ । यसमा प्रि–क्वालिफाइड कम्पनीले मात्रै भाग लिन पाउनेछ । यो विषय क्लियर भइसकेको छ,’ सैनिक प्रवक्ता पौडेलले भने ।

फेज– टुका लागि आवेदन दिएका बाँकी २१ कम्पनी प्रतिस्पर्धाका लागि नै अयोग्य मानिएका छन् । कतिसम्म भने फेज– वानतर्फ २३ अर्बको ठेक्कामा प्रतिस्पर्धा गर्नयोग्य मानिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ ११ अर्ब ७० करोडको प्रतिस्पर्धाका लागि भने अयोग्य ठहर भएको छ । जब कि फेज– वान र टुको कामको प्रकृति भने एउटै हो । नयाँ पत्रिकामा खबर छ ।

Back to top button