वाग्मती प्रदेशसभाको बैठक सोमबार

वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही माघ १९ गते दिनको २ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ ।

प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको थियो । प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु हुनुहुन्छ ।

‘प्रदेशसभा दर्पण’ पुस्तक लोकार्पित

वाग्मती प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभा सचिवालयद्वारा प्रकाशित ‘प्रदेशसभा दर्पण’ पुस्तकको आज यहाँ लोकापर्ण गर्नुभएको छ । प्रकाशित पुस्तक दर्पणमा प्रदेशसभाको छैँटौँ अधिवेशनमा प्रस्तुत विभिन्न विधेयकहरु र प्रतिवेदनहरु समावेश गरिएको थियो ।

उहाँले वाग्मती प्रदेशसभाको तेस्रो वार्षिकोत्सबको उपलक्ष्यमा प्रदेशप्रमुख प्रसाईँ, प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले क्रमशः प्रदेशसभाको बैठकमा नियमित उपस्थित हुने सातजना प्रदेशसभाका सदस्यलाई दोसला र प्रशंसापत्र प्रदान गरी सम्मान व्यक्त गर्नुभयो । सम्मानित हुनुहुने प्रदेशसभाका सदस्यहरुमा गोमा भुर्तेल, वसन्तप्रसाद मानन्धर, चन्द्रबहादुर लामा, सीता अधिकारी, पार्वती सिलवाल, रमेशप्रसाद पौडेल र नरोत्तम वैद्य हुनुहुन्छ ।

यसैगरी उहाँहरुले प्रदेशसभा सचिवालयका कर्मचारीहरुमध्ये पूर्वसचिव रामशरण घिमिरे, अधिकृतहरु शान्तप्रसाद भुजु, सुन्दर पन्त, मीना तिमल्सिना, दामोदर घिमिरे र उपमर्यादापालकहरु निराजन ढकाल, लक्ष्मी विष्ट र प्रहरीतर्फ योगेन्द्र थापा मगरलाई पनि दोसला र कदर पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशप्रमुख प्रसाईँले प्रदेश सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर जनताप्रति भरोसा दिलाउने विकासको पूर्वाधार र आर्थिक समृद्धि ल्याउने कार्यमा सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्न आवश्यकता रहेको बताउनुभयो । उहाँले वाग्मती प्रदेशसभाको तेस्रो वार्षिकोत्सव कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै सङ्घीयतालाई दरिलो तुल्याउन दलहरुले आपसी वादविवादलाई त्यागेर जनता र राष्ट्रप्रति जवाफदेही हुन सकेमात्र प्रजातन्त्रको भविष्य उज्ज्वल हुनेछ भन्नुभयो ।

उक्त कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले विगत ३ वर्षदेखि प्रदेश सरकारले जनतालाई दिगो, शान्तिसुरक्षा प्रदान गर्न, विकासको पूर्वाधारलाई आत्मनिर्भर बनाउन र सुशासन ल्याउने कार्यका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको छनौट, कृषि, पर्यटन र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि सरकारले उच्च प्राथमिकताका साथ बजेट विनियोजित गरी योजना कार्यान्वयन भइरहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले आफ्नोविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई प्रस्तुत गर्नुहुने सदस्यले पुनः आत्मसमीक्षा गरेर संसद्मा विश्वास दिलाउनहुने उल्लेख गर्नुहुँदै अहिले गणतान्त्रित व्यवस्थालाई विकल्पका रुपमा खोज्न नहुनेतर्फ दलहरुले सचेत हुनुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभाका सभामुख श्रेष्ठले नेपालको संविधानको मर्मलाई आत्मसात् गरेर प्रदेशसभाले सङ्घीयता र गणतन्त्रलाई जीवन्त तुल्याउने अभ्यास गरिरहेको उल्लेख गर्नुहुँदै विगत ३ वर्षमा सरकारलाई आवश्यक पर्ने विभिन्न ५९ वटा विधेयक पारित गरी प्रमाणीकरण भइसकेको जानकारी दिनुभयो । उहाँले संसद्को दलहरुले संसद्मा सहकार्य र समन्वय गरेर आफ्नो भूमिका निर्वाह दावी गर्नुभयो ।

प्रदेशसभामा नेपाली कांग्रेस प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशमा रहेका आदिवासी जनजाति, दलित समुदायको भावनालाई समावेश गरी प्रदेशसभाले विभिन्न विधेयक र नीति कार्यक्रममा जोड दिइएको बताउनुभयो । प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले विगत ३ वर्षदेखि प्रदेशसभा सञ्चालनको प्रक्रिया सचिवालयको व्यवस्थापन, कर्मचारीको दरबन्दी, सुरक्षाको प्रबन्धलगायत विभिन्न समितिमा भइरहेको बैठकबाट पारित निर्णयहरु र विभिन्न विधेयक पारित गरी कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।

Back to top button