खुलेको केहि दिनमै विद्यालय बन्द

काठमाडौ अत्यधिक चिसो बढेपछि यहाँका विद्यालय तीन दिन बन्द गरिने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखाका अनुसार नगरमा सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालय सोमबारदेखि यही माघ २१ गतेसम्मका लागि बन्द गरिएको छ ।

महाशाखा प्रमुख गोर्खबहादुर थापाले मौसम अनुकूल भई घाम लागेमा यही माघ २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने तर अवस्था यस्तै रहे आगामी आइतबारदेखि मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिकाले पनि सोमबारदेखि यही माघ २१ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पश्चिम नेपालको नेपालगञ्जमा झण्डै एक सातादेखि चिसो अत्यधिक बढेको महसुस गरिएको छ ।

यस्तै यहाँको भेरी अस्पतालमा उपचाररत एक वृद्धको कोरोनाबाट मृत्यु भएको छ । कैलालीका ८३ वर्षीय वृद्धको आज सो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ८७ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको जनाइएको छ ।

Back to top button