अभिनेत्री ज्याकलिन फर्नान्डिजसँगै हलिउडमा फिल्म खेल्दै मोडल अञ्जली

काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड चलचित्रमा काम गर्ने भएकी छन् । उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँगै ‘वुमन्स स्टोरिज’ मा काम गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ६ भिन्न भिन्न शीर्षकमा बन्ने ‘वुमन्स स्टोरिज’ का सबै भागका निर्देशक महिला हुने जनाइएको छ । साथै काम गर्ने कलाकार पनि सबै महिला हुनेछन् । अञ्जली र ज्याकलिनको अभिनय रहने ६ मध्ये एक ‘सेयरिङ ए राइड’ की की निर्देशक लिना यादव हुन् ।

फरक देशका निर्देशकले निर्देशन गर्ने यो चलचित्र अमेरिका, इटाली र भारतमा छायांकन हुने जनाइएको छ । यस चलचित्रमा कमेडी, डकु–ड्रामा, एनिमेसन आदि विधामा बनाइने सबै पात्र महिला हुने छन् । महिलाको जीवनका विभिन्न परिवेश र पाटालाई देखाइने यो चलचित्रमा इवा लोन्गोरिया, मार्गरिटा बाय, कारा डेलेविन्ज, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।

रुषको रुपमा जन्मेर महिला बनेकी अञ्जली तेस्रोलिंगी समुदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने पहिलो मोडल हुन् । त्यस्तै, उनी सन् २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन सो’ मा उत्कृष्ट २० सम्म पुग्न सफल भएकी थिइन् । ‘ल्याक्मे फेसन सो’ ले उनलाई नेपालको पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा अन्तर्राष्ट्रिय रुपमा चर्चा दिलाएको थियो ।

Back to top button