
काठमाडौं । पछिल्लो समय देशमा भइरहेको नेताहरुबीच विवाद र विभिन्न घटनाक्रमलाई आधार बनाएर कलाकारहरुले ‘नेपालको राजनीति’ नाम गरेको गीत ल्याएका छन् ।
गजलकार एवं सर्जक अञ्चल शाहिको शब्द सिर्जना र भिडियो निर्देशनमा तयार भएको उक्त गीत परिचर्चा इन्टरटेनमेन्टको युट्यूबमार्फत सार्वजनिक गरिएको हो ।
सुवास थापाले संगीत भरेको गीतमा सुवास थापा मगर, मुकेश पुलामी मगर, प्रकाश रशाईली भावुक, दिपक घर्ती मगर, रुपी सिंजाली, चक्र बिक, प्रकाश गौतम, किसन काले, मनु सापकोटा असिम चन्द बिकले आवाज दिएका छन् ।
त्यस्तै, कोरसमा गायिका सम्झना सिवाकोटी र निर्मला बस्नेतको पनि आवाज रहेको छ । उक्त गितका निर्माता कमल बिम्ब हुन् भने डोलराज बारघरेले संगीत संयोजन गरेका छन् ।
गीत रचनाकार तथा थिडियो निर्देशक निर्देशक अञ्चल शाहिले नेताहरुलाई सडकमा गएर रमिता देखाउनुभन्दा यही गीतमार्फत सन्देश दिन खोजिएको बताए ।
‘हामीसँग कला भएर नै कलाकार भनेको हो, अरुजस्तो सडकमा गइ उफ्रिएर कसैलाई फाईदा र कसैलाई घाटामा पुर्याउनु भन्दा यसरी गीतकै माध्येमबाट सन्देश दिने उद्देश्यले गीत निर्माण गरेका हौँ’, उनले भने ।
देशभर नेताहरु राजनीतिक विवाद गरेर जनताहरुले दिएको मत दुरुपयोग गरेका कारण कलाकारहरुले गीतमार्फत नै आवाज उठाएको शाहीले जिकिर गरे ।