अर्को गल्ति गर्दै प्रधानमन्त्री र राष्ट्रपति !

काठमाडौँ – संवैधानिक आयोगहरूमा गरिएका विवादास्पद नियुक्तिको सिफारिसलाई राष्ट्रपतिबाट सदर गर्ने तयारी भएको छ । संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी भएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

गैरसंवैधानिक रूपमा नियुक्तिका आधारमा हुने शपथ रोक्न माग राख्दै मंगलबार मात्र सर्वाेच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गरेका थिए । सो रिट बुधबार सर्वोच्चको इजलासमा पेस हुने र आदेश आउन सक्ने भएकाले बिहानै शपथ खुवाउने शीतलनिवासको तयारी छ ।

अख्तियारको आयुक्तमा सिफारिस भएका पूर्वएआइजी जयबहादुर चन्दले बुधबार बिहानका लागि शपथको तयारी भएको पुष्टि गरे । ‘भोलि (बुधबार) बिहान शपथका लागि स्ट्यान्डबाई बस्नू भन्ने खबर आएको छ,’ उनले नयाँ पत्रिकासँग भने । अध्यक्षलाई राष्ट्रपतिले र अन्यलाई अध्यक्षले शपथ खुवाउने संवैधानिक प्रावधान छ ।

स्रोतका अनुसार मुख्यसचिव शंकरदास बैरागीले नियुक्तिका लागि मंगलबार राष्ट्रपति कार्यालयलाई पत्राचार गरेका छन् । तर, बैरागीको पत्राचार ऐनसँग मेल खाँदैन । संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ को दफा ७ को उपदफा २ मा भनिएको छ, ‘संघीय संसद् सचिवालयबाट नियुक्ति गर्न बाधा नपर्ने गरी लेखिआएको व्यक्तिलाई परिषद्को निर्णयबमोजिम सचिवले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पेस गर्न राष्ट्रपतिको कार्यालयमा लेखी पठाउनुपर्नेछ ।’ तर, परिषद्का सचिवको जिम्मेवारीमा रहेका मुख्यसचिवले संसद्बाट अनुमोदन नै नभएको अवस्थामा पनि राष्ट्रपतिलाई सिफारिस गरेका छन् ।

संवैधानिक परिषद्ले नियुक्ति सम्बन्धमा गर्ने सिफारिस संसदीय सुनुवाइ समितिमा पेस हुनुपर्ने बाध्यात्मक व्यवस्था संविधानको धारा २९२ ले गरेको छ । धारा २९२ को उपधारा (१)मा भनिएको छ, ‘संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ ।’

Back to top button