‘डाक्टर जी’ मा आयुष्मान र राकुल

मुम्बई । फरक कथामा फरक ढंगले काम गर्न सफल बलिउड अभिनेता आयुष्मान खुराना चलचित्र ‘डाक्टर जी’ मा काम गर्ने तयारीमा जुटेका छन् । फरक कथामा बनेका चलचित्रमा काम गर्न माहिर उनले अभिनय गरेका चलचित्रमा पछिल्लो समय दर्शकको रुचि बढ्न थालेको छ । उनका प्रायः चलचित्रले सय करोड सजिलै कमाउन सफल भइरहेका छन् । आयुष्मानको मुख्य भूमिका रहने ‘डाक्टर जी’ लाई जंगली पिक्चर्सले निर्माण गर्दैछ । यो चलचित्रमा अभिनेता आयुष्मानको जोडीको रुपमा अभिनेत्री राकुल प्रित सिंहले काम गर्ने तय भएको निर्माण पक्षले जनाएको छ ।

अभिनेता आयुष्मान र राकुलले पहिलो पटक एकसाथ यो चलचित्रमा काम गर्न लागेका हुन् । राकुलले आयुष्मानसँग काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । उनले चलचित्रको कथा सुनेदेखि नै आफूलाई चलचित्रसँग प्रेम भएको जनाएकी छन् ।

उनले चाँडै नै चलचित्रको छायांकनमा जोडिने विश्वास व्यक्त गरेकी छन् ।सौर्य दैनिकमा खबर छ । राकुलका अनुसार यो चलचित्र एक रोमाञ्चक कथामा बन्न लागेको छ । जसले मेडिकल व्यवसायको विषयलाई चित्रण गर्नेछ । उनले दर्शकले चलचित्रबाट फरक किसिमको स्वाद पाउने अपेक्षा राखेकी छन् । अनुभूति कश्यपले निर्देशन गर्ने यस चलचित्रको छायांकन चाँडै नै सुरु हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । दक्षिण भारतीय चलचित्रमा परिचित अभिनेत्री राकुलको पछिल्लो समयमा बलिउडमा माग बढ्दै गएको छ ।

Back to top button