मेरो कार्यकालको सरकार नै जनताको प्रिय सरकार हो : ओली

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने, स्वाधीनताको रक्षा गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने आफ्नो पार्टी नै आधिकारिक पार्टी भएको दाबी गर्नुभएको छ । शुक्रबार (आज) नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘देश बनाउने पार्टी, स्वाधीनताको रक्षा गर्ने पार्टी, देशको भौगोलिक अखण्डताको रक्षा गर्ने यो पार्टी नै मुल पार्टी हो । आजबाट कुन पार्टी मुल पार्टी हो, भन्ने कुराको टुंगो लाग्यो । फैसला भयो ।’

यसैबीच उहाँले हिजो दाहाल–नेपाल समूहले गरेको आमहड्तालमा धेरै किशानहरुको तरकारी बाटोमा फ्याँकिएको बताउदै उक्त फ्याँकिएको किशानहरुको तरकारीको क्षतिपूर्ति सरकारले व्यहोर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो नेपाल बन्द गर्दा किसानको तरकारी फ्याँकियो । एउटा ट्याक्सी ड्राइभरलाई जुक्याएर ट्याक्सी नै जलाइयो । धन्न ड्राइभर बाँचेछ । त्यो गरीबको नोक्सानी गरेको क्षतिपूर्ति सरकारले व्यहोर्छ । ट्याक्सीको क्षतिपूर्ति दिन्छौं । जनतालाई माया गर्ने सरकार छ । त्यस कारण जनता ढुक्क हुनुस् ।’

उहाँले थप भन्नुभयो, ‘आज यहाँ आउन नदिनका लागि हिजो नेपाल बन्द गरियो । आज बाटामा खाल्टाहरु खनिए । कतिपय बाटामा बम पनि राखिए ।’

त्यस्तै, उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय आकांक्षालाई साकार पार्न चाहेको बताउँदै भन्नुभयो, ‘यस तीन वर्षमा मात्रै ६ हजार किलोमिटर ४ लेन, ६ लेन सडकहरु पिच गरेका छौं, खनेका छौं । विभिन्न विद्यूत आयेजनाहरु सफल बनाएका छौं ।’

त्यस्तै, उहाँले पूर्वाधारहरुको विकाससँगै कृृषि आधुनिकीकरणको लागि लागिपरेको बताउनुभयो । साथै, अहिलेको समयमा सडक बालबालिकाहरु नरहेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘अभिभावक नभएका बालबालिकाहरुको लागि सरकार अभिभावक छ । बेसहाराहरुको साहारा सरकार छ ।’

यसैबीच उहाँले पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाललाई इंगित गर्दै भन्नुभयो, ‘कोही–कोही पूर्वप्रधानमन्त्रीहरु अरुले पकाएको दाल–भात बाँड्न लागे । बाँडेको फोटो खिचेर फेसबुकमा हाले । बरु बिकासको काममा लाग्नु नि !’

Back to top button