कोरोना खोप अभियान : पहिलो चरण सकियो

पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । जसमा छ हजार ९४० जना सहभागी भएका छन् । यही माघ १३ गतेदेखि शुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ । शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालबाट ४००, बघौडा अस्पताल माडीबाट ८९, चितवन मेडिकल कलेजबाट एक हजार ४०, कलेज अफ मेडिकल साइन्सेजबाट ८०८, वृद्धाआश्रमबाट १८९ र कारागार कार्यालय चितवनबाट ६८३ जनाले खोप लगाएका हुन् । खोप शुरु भएको पहिलो दिन २७९ ले खोप लगाएका थिए । यो सङ्ख्या बढेर एकैदिन खोप लगाउने एक हजार २५७ सम्म पुगेको थियो । जिल्लालाई दिइएको लक्ष्यमा ९१ दशमलव पाँच प्रतिशत सफलता पाएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो ।

खोप लगाइसकेपछि आठ जनामा सामान्य प्रतिक्रिया देखिएको भए पनि त्यस्तो अप्रिय घटना हुन नपाएको उहाँको भनाइ छ । खोप लगाएकामध्ये चार जनालाई डाबर उठ्ने र चार जनालाई ज्वरो आएको भरतपुर अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाले जानकारी दिनुभयो ।

सर्लाहीमा साढे छ हजारलाई खोप

सर्लाही–सर्लाहीमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरणको अभियान शनिबार सकिएको छ । जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगी तथा सरसफाइकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शववाहन चालकलगायतलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।

अभियानअन्तर्गत पहिलो चरणको १० दिनमा अग्रपङ्क्तिमा खटिने सबैलाई खोप लगाउने तय गरिए पनि शनिबार थप एक दिन समय थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ । जिल्लामा अभियानअन्तर्गत पहिलो चरणमा दुई हजार ९७६ ले खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमानित तथ्याङ्कअनुसार जिल्लास्थित २० वटै स्थानीय निकायमा अग्रपङ्क्तिमा काम गर्ने झण्डै छ हजार ६३९ रहेका जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।

लक्ष्यअनुसार खोप अभियानको पहिलो चरण सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासक श्रवण नायकले बताउनुभयो । जिल्लाबाट कोरोनाविरुद्धको सात हजार डोज खोप माग गरिएकामा पाँच हजार ३०० डोजमात्र प्राप्त भएको थियो । अब आज आउने लिखित निर्देशनअनुसार बाँकी रहेको खोपलाई सर्लाहीमै भण्डारण गरेर राख्ने वा केन्द्रलाई फिर्ता पठाउने भन्ने निर्णय गरिने उहाँले बताउनुभयो ।

सर्लाहीमा अहिलेसम्म खोप लगाएका कोहीमा कुनै पनि किसिमको स्वास्थ्य समस्या नदेखिएको जनस्वास्थ्य प्रशासक नायकले बताउनुभयो । पहिलो डोज खोप लगाएका व्यक्तिले अब २८ दिनपछि फेरि दोस्रो डोज लगाउनुपर्ने छ । अघिल्लो बुधबार अर्थात् यही माघ १४ गतेबाट सर्लाहीसहित देशभर शुरु गरिएको पहिलो चरणको अभियान शनिबार अन्त्य भएको हो ।

बागलुङमा १, ७२९ ले लगाए खोप

गलकोट– बागलुङ जिल्लामा पहिलोचरणको कोरोना खोप अभियान सकिएको छ । बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाएका छन् । गत १४ गतेदेखि लगाउन शुरु गरेको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइमा काम गर्ने कर्मचारी र एम्बुलेन्स चालकले खोप लगाएका हुन् । पहिलो चरणको खोप शनिबार सम्पन्न भएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।

जिल्लामा दुई स्थानमा खोप केन्द्र सञ्चालन गरिएको थियो । धवलागिरि अस्पताल बागलुङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा खोप केन्द्र चलाइएको थियो । बुर्तिबाङमा पश्चिम बागलुङका चार पालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका लक्ष्य गरी खोप केन्द्र सञ्चालन गरिएको खत्रीको भनाइ छ । पहिलो चरणमा एक हजार ७१४ लाई खोप लागउने भनिए पनि मानव सेवा आश्रममा आश्रित नागरिक र कैदीबन्दीलाई समेत खोप लगाउँदा सङ्ख्या बढी भएको खत्रीले जानकारी गराउनुभयो । मानव सेवा आश्रमका ३१ लाई र जिल्ला कारागार कार्यालयमा रहेका १२५ जनालाई खोप लगाइएको उहाँको भनाइ छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ३७३ र धवलागिरि अस्पताल केन्द्रमा एक हजार २०० लाई खोप लगाइएको थियो । अझै २३० जनालाई पुग्ने खोप बाँकी रहेको खत्रीले जानकारी दिनुभयो । अब केही समयपछि कर्मचारी र जनप्रतिनिधिलाई समेत खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
–––

Back to top button