ओलीले नेतृत्व गरेकै पार्टी आधिकारिक हो : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको बताउनुभयो ।

कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्वोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले निर्वाचन आयोगले समेत केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीबाहेक अन्यलाई आफूले नजान्ने बताएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले गरेका जनमुखी र मुलुकमा विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नै आधिकारिक अध्यक्ष र उहाँले नेतृत्व गरिरहेकै नेकपा संस्थापन पक्ष भएकाले कोही पनि कार्यकर्ता प्रचण्ड–नेपालको प्रलोभनमा पर्न नहुने बताउनुभयो ।

उहाँले चुनाव चिन्हका बारेमा समेत शंका गर्नु नपर्ने बताउनुभयो । जो अहिलेसम्म सुर्य चिन्ह लिएर निर्वाचन लडेकै छैन, उसैले सुर्य चिन्ह हाम्रो हो भन्दै हिड्नु हास्यास्पद भएको उल्लेख गर्दै आधिकारीक अध्यक्ष जो हो उसैसँग चुनाव चिन्ह रहने बताउनुभयो ।

विसं २०७५ पुसदेखि निर्माण शुरु भएको उक्त पुल विसं २०७७ असोजमा सम्पन्न भएको थियो । पच्चीस मिटर लामो उक्त पुल रु चार करोड १७ लाख ६२ हजारमा निर्माण सम्पन्न भएको हो । पुल निर्माण पछि दुर्लुङ्ग–बाजुङ सडक बाह्रैमास सञ्चालनमा आउने भएको छ । पुल सडक डिभिजन कार्यालय बागलुङले निर्माण गरेको हो ।
–––

Back to top button