एक साथ दुई भोजपुरी फिल्ममा विराज

काठमाडौं । गत वर्ष आफ्नै निर्माण निर्देशनमा नयाँ चलचित्र सङ्लो दर्शकमाझ ल्याएका विराज भट्ट यतिबेला पुन भोजपुरी फिल्ममा जोडिएका छन् । अब नियमित रूपमा नेपाल बसेर हरेक वर्ष एउटा फिल्म निर्माण गर्ने भनेका विराज कोभिडका कारण तत्काल नयाँ नेपाली चलचित्र बनाउने पक्षमा छैनन् । सोही कारण पनि उनी पुनः भोजपुरी फिल्ममा फर्किएका हुन् ।

यतिबेला अभिनेता विराज एकसाथ दुई ओटा भोजपुरी फिल्मको छायांकनमा व्यस्त छन् । उनी नयाँ दुई भोजपुरी फिल्म क्रोध र दिया बात्तीको छायांकनमा व्यस्त भएका हुन् । यी दुवै फिल्मको वनारसमा छायांकन भइरहेका कारण एकसाथ काम गर्न सजिलो भएको विराजले बताएका छन् ।

फिल्म क्रोधका निर्देशन धीरेन्द्रकुमार झाले गरिरहेका छन् । जसमा विराजको नायिकाको रूपमा अनुराधा छिन् । यस्तै, उनको अर्को फिल्म दिया बात्तीमा ऋचा दीक्षित उनको नायिकाको रूपमा छिन् ।

बिगत एक दशकदेखि भोजपुरी फिल्ममा काम गर्दै आएका यी अभिनेता तीन वर्षअघि नेपाली चलचित्र जय परशुरामबाट नेपाली सिनेमामा फर्किएका थिए । जय परशुरामले राम्रो व्यापार गरेपछि उनी आफैं फिल्म निर्माण र निर्देशनमा उत्रिएका हुन् । यी दुई भोजपुरी फिल्ममा काम गरिरहेका विराजले आफूलाई अन्य भोजपुरी फिल्मबाट पनि प्रस्ताव आइरहेको बताएका छन् । जसका कारण उनी तत्काल नेपाली फिल्मको निर्माणमा जोडिने सम्भावना घटेको छ ।

Back to top button