दार्चुला-तिङ्कर सडक निर्माण गर्न सेनाको टोली व्यास पुग्यो

दार्चुला, २ फागुन । महाकाली करिडोर अन्तरगत दार्चुला–तिङ्कर सडक निर्माणका लागि नेपाली सेनाको टोली व्यास पुगेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख सेनानी उज्जल राणाको नेतृत्वमा दक्ष प्राविधिक जनशक्ति सहितको टोली निर्माण स्थलमा गएको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ ।

गत साउन महिनाको अन्तिम साता दार्चुला सदरमुकाम खलंगा पुगेको नेपाली सेनाको टोली सडक निर्माणका लागि माघ ३० गते खलंगाबाट साइटतिर प्रस्थान गरेकोमा शनिबार निर्माण स्थलमा पुगेको छ । निर्माणका लागि आवश्यक प्रक्रियाहरु पूरा भएसँगै नेपाली सेनाको टोली आवश्यक बन्दोबस्तीका सामग्रीहरु सहित व्यास गएको हो । दार्चुला पुगेको निर्माण सामाग्री तथा बेस क्याम्प निर्माणका लागि चाहिने आवश्यक सामग्री समेत व्यास पठाइएको नेपाली सेनाले जनाएको छ । व्यास क्षेत्रका दुई स्थानमा बेस क्याम्प स्थापना गरि सडक निर्माणको काम शुरु गर्ने तयारी थालिएको प्रमुख सेनानी राणाले बताउनुभयो ।

नेपाल सरकारले घाँटिबगरदेखि तिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।सोही अनुसार नेपाली सेनाको टोली निर्माणस्थलमा पुगिसकेको छ । खलंगादेखि व्यास गाउँपालिका–३ सम्म दार्चुला–तिङ्कर सडक योजनाले ४३ किलोमिटर सडकको ट्र्याक खोलेको छ । बाँकी ८७ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको टोली अहिले निर्माण स्थलमा गएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसअघि सेनाले घाँटीबगर इलाकाको घोडेटो बाटो सम्पन्न गरे पनि अहिले भने अर्कै बाटो हुँदै सडक निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

Back to top button