धुर्मुस सुन्तलीको नमूना मुसहर वस्तीबाट स्थलगत : रोइन आमा, कि खान देउ, कि घर लैजाउ (हेर्नुस् भिडियो)

अभिनेत्री स्वेता खड्काले निर्माण गरिएको भनिएको माझी वस्तीको स्थलगत रिपोर्टिङपछि यसै साता हाम्रो कला टिभीको टिम धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमूना मुसहर वस्ती पुग्यौँ । वस्ती हस्तान्तरण भएको तीन वर्षपछि त्यहाँको वस्तुस्थिती बुझ्न जब मंगलबार बिहानै हामी त्यहाँ पुग्यो, वस्तीको मुहार खुशीले रंगिएको थियो । कारण, त्यहाँ वस्तीकै सदस्य कसैको बिहे भइरहेकोे थियो । बाजा बजिरहेको थियो, वस्तीका मुसहरहरु खुशीले नाचिरहेका थिए ।

सधँै अभाव, गरीबी र उत्पीडनले डामिएका मुसहरहरुको दैनिकीमा यस्तो खुशीको मौसम विरलै देख्न पाइन्छ । नत्र त आज के काम पाइएला, कति कमाइएला, साँझ खान पाइएला÷नपाइएला, यस्तै प्रश्न र चिन्तामै त बित्छ उनीहरुको जीवन ।

तीन वर्षअघिसम्म खरको झुपडीमा बस्दै आइरहेका त्यहाँका मुसहरहरु पक्की घरमा बस्न पाउँदा खुशी त हुने नै भए । तर, लगभग १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यो एकीकृत बस्तीमा पुग्दा धेरैको गुनासो थियो– ‘घर त पाइयो, तर काम खोइ ?’ काम नपाउँदा जिविको टार्न धौ धौ परिरहेको पीडा उनीहरुले सुनाए ।

वस्तीभित्र रिपोर्टिङका क्रममा हामी पुग्यौँ, घरअगाडी आँगन पोतिरहेकी आमा फुलकमारी सदाको घरमा । आफ्नै छोराबुहारीबाट हेपिएको बताउँदै गर्दा उनका आँखाबाट आँशु थामिएनन् । लडेर घाइते भएका श्रीमान्लाई उनी अरुसँग भिख मागेर पालिरहेको बताइरहेकी थिइन् । १ वर्षदेखि वस्तीमा धुर्मुस सुन्तली नआएको गुनासो गर्दै उनी टिलपिल आँशुसहित विलौना गरिरहेकी थिइन्, ‘धुर्मुस सुन्तली चाँडै चामल लिएर आउनु ल ।’

Back to top button