चुनावी तयारीमा जुट्न कार्यकर्तालाई काँग्रेस सभापति देउवाको आग्रह

त्रिशूली: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले संसद् विघटनसम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताए ।

“विघटन भएको संसद् पुनःस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न”, देउवाले भने, “अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको सङ्घर्ष हो ।”

कार्यक्रममा पार्टीका नेता प्रकाशमान सिंहले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउछ भन्नेमा आशावादी हुनुपर्नेमा जोड दिए । पार्टीका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा तामाङलगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गरे ।

Back to top button