चकलेटीबाट यथार्थ पात्रतर्फ प्रदीप खड्का

काठमाडौं । यस अघि प्रेम कथामा आधारित सिनेमालाई महत्व दिँदै आएका अभिनेता प्रदीप खड्का पछिल्लो समय वास्तविकतालाई महत्व दिन थालेका छन् ।

नयाँ चलचित्र ‘प्रकाश’का लागि अभिनयसँगै जुम्ली भाषा सिकिरहेका यी अभिनेताले यो क्षेत्रमा आफू हरेक प्रकारको भूमिकामा प्रस्तुत हुन सक्नुपर्ने बताएका छन् ।

यस अघि चलचित्र ‘प्रेमगीत ३’का लागि पनि उनले केही समय अभिनय सिकेका थिए । जसमा उनको लवजदेखि भेषभूषासम्म फरक थियो । प्रेमगीतका अघिल्ला २ शृंखलामा चकलेटी भूमिकामा निर्वाह गरेका उनले अबका दिनमा आफूलाई केही फरक रूपमा प्रस्तुत गर्ने बताएका छन् ।

उनले अघिल्लो चलचित्र ‘रोज’मा पनि आफूलाई बिगतभन्दा केही फरक रूपमा उभ्याएका थिए । सो फिल्मको व्यवसाय ठिकै भए पनि प्रदीपको भूमिकाले चर्चा पाएको थियो ।राजधानि दैनिकमा खबर छ । यी अभिनेतालाई पछिल्लो समय यथार्थपरक भूमिका मन पर्न थालेको छ । त्यसैले यसपटक उनले चलचित्र प्रकाशमा जुम्लाको एउटा ग्रामीण युवकको भूमिका निर्वाह गर्दै छन् । सो भूमिका आफूलाई साह्रै मन परेको तर केही कठिन भएकाले त्यसका लागि तीन महिनादेखि आफू अभ्यासमा रहेको पनि यी अभिनेताको कथन छ ।

चलचित्र प्रकाशको छायांकनमा यसै साताबाट जुम्लादेखि सुरु हुँदै छ । फिल्मको युनिट जुम्ला प्रस्थान गर्दै छ । त्यो चरित्रमा वास्तविकता आयोस भनेर आफूले जुम्ली भाषा सिकिरहेको पनि उनले बताएका छन् ।

यो लकडाउनको फुर्सदमा विभिन्न देशका कलात्मक सिनेमा हेर्ने अवसर पाएका यी अभिनेतालाई ती सिनेमाका पात्रको कामले निकै प्रभाव पारेको छ । सोही कारण पनि आफूलाई अबका दिनमा फरक–फरक चरित्रमा यथार्थपरक शैलीमा ढाल्न यी अभिनेता आतुर छन् । चलचित्र प्रकाशको शीर्ष भूमिकाबाट आफूले त्यो कुरा प्रमाणित गर्न चाहेको पनि उनको कथन छ ।

Back to top button