नेपालको जग्गा हडप्न खोज्ने भारतीय नागरिक पक्राउ

विराटनगर । नेपाली नागरिकको जग्गा हडपेर आफ्नो नाममा पार्ने प्रयास गरिरहेका भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन्। भारतको अररिया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्मालाई प्रहरीले सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिका-५ चाँदनी चोकबाट पक्राउ गरेको हो।

भारतीय नागरिक हुँदाहुँदै किर्ते गरेर सुनसरीको दुहवीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको पुष्टि भएपछि शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आफू नेपाली नागरिक भएको गलत विवरण पेस गर्दै नेपाली नागरिकता लिएका उनलाई कारबाहीको माग राखेर सुनसरीस्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी परेको थियो।

उजुरी परेको थाहा पाएपछि उनी दुई सातादेखि फरार थिए। तर लुकिछिपी विराटनगर आएपछि प्रहरीको फन्दामा परेका हुन्। पक्राउ परेकालाई छुटाउनका लागि कानुन व्यवसायीदेखि लिएर राजनीतिक दलका नेता र समाजसेवीका नाममा समेत दबाब आउन थालेको प्रहरी स्रोतले बतायो।

Back to top button