माछा मार्न हिँडेका युवा लेटाङमा मृत फेला

विराटनगर । माछा मार्नका लागि भनेर अघिल्लो दिन घरबाट हिँडेका मोरङको लेटाङका एक युवा बिहीबार बिहान मृत फेला परेका छन्।

लेटाङ नगरपालिका–५ का २७ वर्षीय उगेन मगरको शव जंगलभित्र फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनकाअनुसार मगर बुधबार बिहान १० बजेतिर माछा मार्नका लागि भनेर घरबाट हिँडेको खुलेको छ।

प्रहरीकाअनुसार पथरीशनिश्चरेमा रहेको एउटा पोखरीमा माछा मार्न भनेर गएका उनको शव शंकास्पद अवस्थामा फेला परेको हो। राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो। खोजी गर्ने क्रममा लेटाङकै त्रिवेणी सामुदायिक वनभित्र शव फेला परेको डीएसपी राईले बताए।

परिवारका सदस्य, आफन्त र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा शव भेटेपछि बिहान ९ बजेतिर घटनाका बारेमा प्रहरीलाई जानकारी गराएका थिए। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान थाल्दै शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको छ।

प्रहरीले घटना कसरी भएको हो भन्ने यकिन हुन नसकिरहेको जनाएको छ।

Back to top button