
बेलबारी । बेलबारी नगरपालिकाले `हेलो उपमेयर क्विक रेस्पोन्स´अभियान संचालन गर्ने भएको छ।
बिहीवार बसेको नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिको बैठकले बजारलाई संकटको समयमा समेत उपभोक्ता मैत्री बनाउन यस्तो अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
अभियानले बजार अनुगमनलाई निरन्तरता दिइने, कृत्रिम अभाव र कालोबजारी गर्नेलाई तत्काल कार्वाही गर्ने, उपभोक्ताहरुको गुनासोको तत्काल सुनुवाई गर्ने छ ।
यस्तै दैनिक उपभोग्य सामग्रीहरुको आपूर्तिमा व्यवसायी तथा ब्यापारीहरुलाई सहयोग गर्ने निर्णय गरिएको समितीका सदस्य सचिव महेन्द्र खडकाले बताउनुभयो ।
महामारीका समयमा स्वास्थ्य संस्थाहरुलाई सेवा प्रवाहमा थप जिम्मेवार बनाउन र सिङ्गो बजारलाई मर्यादित बनाउन बजार अनुगमनलाई कडाइ गरिएको समिती सदस्य सन्तोष बिकले बताउनुभयो ।
सदस्य राजेशजङ्ग कार्कीले उद्योग बाणिज्य संघ बेलबारीले उपभोक्ता हित संरक्षण समितिसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।
उपभोक्ता हित संरक्षण समितिकी संयोजक नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले व्यापारी व्यवसायीहरुलाई बजारमा उपभोक्ताको हित र अधिकार विपरीत कुनै काम नगर्न आग्रह गर्नुभयो ।
उहाँले महामारीको समयमा सबै उद्योगी,व्यापारी व्यवसायीबाट नगरपालिकाले महामारीसँग जुध्न आ-आफ्नो स्थानबाट सहयोगी भूमिकाको अपेक्षा गरेको बताउनुभयो ।
तर बिपदको बेला नाजायज लाभ उठाउन खोज्नेलाई भने तत्काल कारवाही गर्ने उहाँले चेतावनी दिनुभयो ।