चीनले चाँडै नेपाललाई स्वास्थ्य सामाग्री आपूर्ति गर्छ : वाङ

बेइजिङ । कोभिड–१९को दोस्रो भेरियन्टबाट नेपाल ग्रसित बन्दै गइरहेका बेला उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई आवश्यक सहयोग गर्ने घोषणा गरेको छ ।

चिनियाँ बिदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले महामारी विरुद्ध लड्न नेपाललाई सक्दो सवै सहयोग गर्ने बताउनुभएको हो ।

उहाँले कोभिड महामारी विरुद्ध नेपाललाई चाहिने सवै स्वास्थ्य सामाग्री संकलन भएको भन्दै चाँडै आपूर्ति गर्न तयार रहेको उहाँले बताउनुभएको छ ।

छिमेकी र रणनीतिक साझेदार मित्रको हैसियतले चीन र नेपालले सहकार्यको हात अघि बढाएको र महामारी सुरु भएयता दुई मुलुकबीच मित्रताको नयाँ अध्याय सुरु भएको उहाँले बताउनुभयो ।

पछिल्लो स्वास्थ्य संकटबारे चीन जानकार रहेको भन्दै प्रवक्ता वाङले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । नेपालसहितका चार दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुको हालै सम्पन्न भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

Back to top button