कोभिड–१९ विरुद्धको खोप आपूर्तिकालागि नीजि क्षेत्रलाई आह्वान गरियोस

विराटनगर । यहाँका उद्योगी व्यवसायीहरुले सरकारलाई कोभिड–१९ विरुद्धको खोपको आपुर्तिका लागि सरकारले नीजि क्षेत्रलाई आह्वान गर्न माग गरेका छन् ।  उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

महामारीका रुपमा फैलिरहेको कोभिड १९ र यसबाट सिर्जित स्वास्थ्य जटिलताका कारण मुलुकले गम्भिर सामाजिक एवं आर्थिक समस्या झेल्नुपरिरहेको भन्दै उनीहरुले भ्याक्सिन नै एकमात्र विकल्प रहेको उल्लेख गरेका छन् ।

महामारीमा नागरिकलाई बचाउन खोप सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन आवश्यक रहेको भन्दै यसकालागि सरकारले आफ्ना सबै संयन्त्रहरु परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रकृयागत जटिलता सरल वनाई यथाशक्य खोप आपूर्ति गर्न अनुरोध गर्दै विज्ञप्तिमा भनिएको छ,‘ खोप आपूर्तिमा मूल्यलगायतको मापदण्ड निर्धारण गरि नीजि क्षेत्रलाई आब्हान गर्न समेत नेपाल सरकार समक्ष संयूक्त रुपमा अपिल गर्दछौ ।

चारवटै संगठनका अध्यक्षहरुले जारी गरेको विज्ञप्तिमा विगतमा नेपाल सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोपको प्राथमिकतामा नीजि क्षेत्र पर्न नसकेको भन्दै नीजि क्षेत्रको योगदानलाई मध्यनजर गर्दै यस क्षेत्रका कामदार, श्रमिक र कर्मचारीहरुलाई कोभिड १९ बिरुद्धको खोप प्राथमिकताका साथ उपलब्ध गराउन माग गरेको छ ।

उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले संयुक्त रुपमा विज्ञप्ती जारी गर्नुभएको हो ।

Back to top button