प्रधानमन्त्रीले लिने विश्वासको मतका लागि आज मतदान हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदै हुनुहुन्छ ।

विश्वासको मत लिन आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो बस्दै छ ।

दिउँसो १ बजे बस्ने वैठकको शुरुमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछी विश्वासको मतमा मतदान गर्ने तयारी गरिएको छ ।

कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

अहिलेको दलहरुको गठबन्धन हेर्दा प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त गर्न सहज छैन । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै समर्थन फिर्ता लिईसकेको छ ।

निर्णायक मानिएको जसपा पनि बाँडिने भएपछी प्रधानमन्त्रीले विश्वासको मत पाउने संभावना कमजोर बनेको छ ।

एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । यद्यपि एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षले समेत प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई अल्टिमेटम दिदै माग पूरा नभए संसदबाट नै सामूहिक राजिनामा दिने धम्की दिएका छन ।

तर अझैपनी एमालेलाई विभाजनबाट रोक्न प्रयास भैरहेकाले मध्याह्नसम्म पार्टीका सवैले विश्वास दिने र जसपा र अन्य साना दलका सांसदबाट प्रधानमन्त्रीले विश्वासको मत पाउने उहाँ निकट स्रोतले बताएको छ ।

Back to top button