प्रचण्डले प्रधानमन्त्रीलाई भने,‘तपाई कि म राष्ट्रिय समस्या ? आउनुहोस बहस गरौं

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाई कि म को राष्ट्रिय समस्या हो बहसमा उत्रन चुनौति दिनुभएको छ ।

प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले आफूलाई राष्ट्रिय समस्या भनेर टिप्पणी गरेको भन्दै बहसमा उत्रन चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीज्यू राष्ट्रिय समस्या तपाइँ हो कि म हो आउनुहोस् बहस गरौं ।’

प्रधानमन्त्रीले आफूसँगको रिस प्रतिनिधिसभा विघटन गरेर पोखेको आरोप लगाउँदै प्रचण्डले प्रधानमन्त्रीसँग यहि प्रतिनिधिसभासँग विश्वासको मत माग्ने अधिकार समेत नभएको बताउनुभयो ।

संविधान बनाउँदै गर्दा एउटै प्रधानमन्त्रीले ५ वर्षसम्म शासन गर्न सकोस् भन्ने परिकल्पना गरिएपनि अहिले नै विश्वास र अविश्वास मतको प्रस्तावको खेल शुरुहुनु दुखद भएको उहाँले बताउनुभयो ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन भनी प्रश्न गर्नुभएको छ । विश्वासको मत नै लिन चाहेको भए सर्वोच्च अदालतले एमाले र माओवादी अलग ÷अलग हुने फैसला गरेलगत्तै प्रधानमन्त्री संसदमा आउनुपर्ने उहाँले तर्क गर्नुभयो ।

संविधानको धारा ७६(१) बाट (२) को प्रधानमन्त्री भएपछि प्रधानमन्त्री ओलीले त्यतिबेलै विश्वासको मत लिनुको साटो समर्थन किन फिर्ता नलिएको भनेर प्रश्न गरिरहेको प्रचण्डले बताउनुभयो । समर्थन छिटो फिर्ता लिए फेरि संसद विघटन गर्ने हो कि भन्ने डरले मात्र आफूहरु रोकिएको उहाँले बताउनुभयो ।

यस्तै प्रचण्डले नीति तथा कार्यक्रम र बजेटका लागि नियमित अधिवेशन बोलाउनुपर्ने बेला विश्वासको मत लिन विशेष अधिवेशन बोलाउनुले पनि आशंका उब्जिएको बताउनुभयो ।

Back to top button