प्रधानमन्त्री ओलीलाई माधव नेपाल पक्षको चार बजेसम्मको अल्टिमेटम

काठमाडौं । नेकपा एमालेभित्रको विवादले नयाँ मोड लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा घर्किनै लाग्दा एमालेका शिर्षनेताहरुबिच वार्ता र छलफल घनिभूत हुन थालेका छन् ।

आज मात्रै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको वैठकबाट यसअघि निलम्बन गरेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका चारजनाको कारवाहि फुकुवा गर्नुभएको छ ।

त्यहि समयमा बसेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीको वैठकले भने संसदबाट सामुहिक राजिनामा दिने नदिने भन्ने विषय अध्यक्ष ओलीले २०७५ जेठ २ मा फर्कने निर्णय गर्ने या नगर्नेमा भरपर्ने निष्कर्ष निकालेको छ ।

भर्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने माधव पक्षले निर्णय गरेको हो ।

यता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने नेपाल पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाएर थप छलफल गर्ने तयारीमा हुनुहुन्छ । त्यसलाई भने नेपाल समूहले अस्विकार गरिरहेको छ ।

नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा दिइने निर्णय गरेको बताउनुभएको छ ।

उहाँले नवौं राष्ट्रिय महाधिवेशन बमोजिम अगाडि बढ्ने, त्यसबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक र केन्द्रीय कमिटीलाई मान्ने तर आफूहरुको अनुपस्थितीमा भएका निर्णयहरुलाई नमान्ने निष्कर्षमा पुगेको जानकारी दिनुभयो ।

आजै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र माधव नेपालबिच भेटवार्ता तय भएको पार्टीस्रोतले जानकारी दिएको छ ।

Back to top button