पथरीमा भोली रातीदेखि औषधिबाहेकका सवै पसल बन्द गर्ने निर्णय

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दैगएपनि सतर्कता अपनाउँदै जेठ २ गते (भोली) राती १२ बजेदेखि औषधि बाहेकका सवै पसल बन्द गर्ने निर्णय भएको छ ।

नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले नगरमा अर्काे सूचना जारी नभएसम्म औषधि बाहेकका सवै किसिमका पसल व्यवसाय वन्द गर्ने निर्णय गरेको हो ।

वडाध्यक्षहरुको समेत सहभागितामा भएको नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको कोरोनाका कारण ४ जनाको ज्यान गएको र ६२ जना संक्रमित भइसकेको अवस्थालाई मध्येनजर गर्दै यस्तो निर्णय गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

बैठकले सार्वजनिक निर्माण कार्यका लागि आवश्यक ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रिपर सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै विहान ६ देखि १० बजेसम्ममात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै लकडाउनलाई कडाईका साथ कार्यान्वय गराउन वडाध्यक्षको अगुवाईमा वडास्तरीय समन्वय समिति निर्माण गर्दै प्रहरी प्रशासनसँग सहकार्य गरिने भएको छ ।

तोकिएको निर्णय पालना नगरे, नगराएमा तथा बस्तुहरुको कालोबजारी गरेमा तत्काल कानून बमोजिम कारबाही गरिने समेत वैठकले निर्णय गरेको छ ।

सजगता अपनाउन नगरबासीमा आग्रह
वैठकले महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसबाट बच्न सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्न र गराउन नगरबासीमा आग्रह गरेको छ ।

बन्दाबन्दीलाई पूर्णरुपमा कायान्वयन गर्दै कोरोना भाइरसको आशंका भएमा नगर अस्पतालमा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको सल्लाहअनुशार उपचार गराउन आग्रह गरेको छ ।

Back to top button