प्रधानमन्त्री ओलीको निर्देशन : संक्रमितको मनोवल बढाउने गरी काम होस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट मुलुकभरिका संक्रमितहरुको उपचारको भरपर्दो र मनोवल बढाउने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री, अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र र सरकारी निकायसँग बालुवाटारमा आयोजित छलफलमा संक्रमितको जीवन रक्षाका सम्पूर्ण शक्ति लगाउन निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षाका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा भरपर्दो बनाउन निर्देशन दिनु भयो । घरमा अक्सिजन राख्नु भन्दा अक्सिजन अभावमा अस्पतालको शय्यामा छटपटिरहेका बिरामीका लागि उपयोग गर्न उहाँले निर्देशन दिनुभयो ।

‘स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउने तर अक्सिजन सिलिण्डर घरमा लगेर राख्ने प्रवृतिले कोही सुरक्षित रहन सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘यो प्रवृतिले अस्पतालमा संक्रमित पनि बाँच्दैन र अक्सिजन सिलिण्डर घरमा राख्ने पनि बाँच्न सक्दैन ।’ त्यसैले मानव जीवन रक्षाका लागि अक्सिजन उत्पादन, आपूर्ती र वितरण प्रणाली व्यवस्थित र भरपर्दो बनाउनुको विकल्प नभएको उहाँले बताउनु भयो ।

अक्सिजन उत्पादन, व्यवस्थापन, भेन्टिलेटरको आपुर्ति र व्यवस्थापनका लागि ३५ दिने सूचनालाई संकटको बेलामा पर्खिनु नपर्ने प्रधानमन्त्री ओलीले भन्नु भयो । संक्रमितका लागि आवश्यक औषधी, उपचार, उपकरण लगायतका सामग्री अभाव हुन नदिन वहाँले निर्देशन दिनुभयो ।

संकटका बेला गरिने काममा अनियमितता हुनु अक्षम्य अपराध हो तर काम गर्नेको मनोवल गिराउने गरी नभएको भ्रष्टाचारको पनि अफवाह फैलाउनेबाट सबैलाई सचेत रहन उहाँले निर्देशन दिनुभयो ।

Back to top button