अक्सिजन सिलिण्डरको आयातले आपूर्ति व्यवस्था सहज बन्दै

काठमाडौं । कोरोना संक्रमणले अक्सिजन सिलिण्डरको अभाव भएपछि बिभिन्न दातृ निकायका साथै बिभिन्न मुलुकबाट भइरहेको आयातले अक्सिजनको उपलब्धता सहज हुने भएको छ ।

चीन सरकारले पठाएका १८ हजार अक्सिजन सिलिन्डर तातोपानी नाका आइपुगेको छ । १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेकोले चाँडै अक्सिजनको आपुर्ति सहज हुने सरकारले विश्वास व्यक्त गरेको छ ।

सिलिन्डर अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४ सय सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी १ हजार ६ सय सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

अक्सिजन सिलिण्डरको आपूर्ति बढेको र वितरण पनि व्यवस्थित हुन थालेकाले चाँडै अक्सिजन सहज हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आयात र वितरणसँगै बिग्रेका अक्सिजन प्लान्ट मर्मत, नयाँ प्लाण्ट थपका साथै अक्सिजन उद्योगहरु पूर्ण क्षमतामा व्यवस्थित रुपमा सञ्चालन भइरहेकाले छिट्टै अक्सिजनको आपूर्ति सहज हुने बताए ।

Back to top button