
काठमाडौं । सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ को बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।
यसकालागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, सबैलाई सञ्चालन गर्न हालरहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्ने निर्णय भएको उहाँले बताउनुभयो । वैठकले खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्री ज्ञवालीले बताउनुभयो ।
यस्तै देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने, ति उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने र लिक्विड अक्सिजन आयातका लागि भारतसँग आग्रह गर्ने निर्णय वैठकले गरेको छ ।
सीसीएमसीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफै पनि उपस्थित हुनुभएको थियो । वैठकमा प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जाने अवस्था आउन नदिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीकै निर्देशन बमोजिम झन्झटिला प्रक्रियालाई छोट्याएर हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर नागरिको जीवन रक्षाका लागि लाग्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।
‘जे जे गर्नुपर्छ त्यो गर्नुहोस् र त्यसका लागि आवश्यक कानून मिलाउनुपर्ने भए कानून मिलाउनुहोस्, प्रक्रिया मिलाउनु पर्ने भए प्रक्रिया मिलाउनुहोस्, क्विक रेस्पोन्स टिम बनाउनुहोस् तर हरहालतमा नागरिको जीवन रक्षा हुनुपर्यो । तदनुरुप काम गर्नुहोस् ।’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै मन्त्री ज्ञवालीले बताउनुभयो ।