कहिलेदेखि सुरु हुन्छ नयाँ शैक्षिक सत्र ?

विराटनगर । कोरोना महामारीले शिक्षा क्षेत्र नराम्ररी गिजोलिएको छ । वैसाखदेखि सुरु हुने शैक्षिक सत्र मिति जेठबाट निर्धारण गरिएको थियो ।

तर कोरोनाको दोस्रो लहरले त्यो मितिमा पनि शैक्षिक सत्र सुरु हुन सकेन । अब कहिलेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने विषयले अभिभावक र विद्यार्थीलाई पिरोलिरहेको छ ।

यसैबीच काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय सार्वजनिक गरेको छ । तर अन्य स्थानीय तह र सरकार यस बारेमा हालसम्म कुनै निर्णयमा पुग्न सकेको छैन ।

काठमाडौं महानगरले जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्ममा नतिजा प्रकाशन गर्न निर्देशन जारी गरेको छ ।

विद्यालयको अनुकूलताअनुसार अनलाइन, अफलाइन, टेलिफोनलगायत यसअघि सञ्चालित परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न सकिने महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो ।

केही विद्यालयले वार्षिक परीक्षा लिई नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्रको अनलाइन कक्षासमेत सुरु गरिसकेको छ । पठनपाठनसमेत सुरु गरिसकेका छन् ।

कक्षा ८ को नगरस्तरीय परीक्षाका विषयमा भने छिट्टै निर्णय लिएर सूचना जारी गरिने सुवेदीले बताउनुभयो ।। शिक्षा मन्त्रालयले गत वर्षको कोरोना महामारीका कारण वैशाखबाट सुरु हुने शैक्षिक सत्रलाई असारमा सारेको थियो ।

यसपालि पनि वैशाखदेखि शिक्षण संस्थाहरू ठप्प छन् । पठनपाठन र परीक्षा रोकिएको छ । मन्त्रालयले अर्को निर्णय नभएसम्म असार पहिलो साताबाटै शैक्षिक सत्र सुरु हुने जनाएको छ ।

पठनपाठन र परीक्षा हुन नसकेकाले चालु शैक्षिक सत्रलाई अझै पछाडि थकेल्ने कि भन्ने विषयमा छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । जेठमा सञ्चालन हुने कक्षा १० र १२ को परीक्षा पनि स्थगित गरिएको छ ।

Back to top button