अरब सागरमा विकसित चक्रवात ताउ ते को प्रभाव नेपालमा पनि पर्ने

काठमाडौं । ‘ताउ ते’ नाम दिइएको अरब सागरमा विकसित चक्रवात को प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा दखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्म पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ । यसको प्रभावले मेघ गर्जनसहित पानी पर्ने, हुरी चल्ने हुने उहाँले बताउनुभयो ।

मौसविद्का अनुशार भोलिदेखि चक्रवातको प्रभाव पर्ने देखिएको छ । बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म पर्वतारोहण नगर्न–नगराउन आग्रह गरेको छ ।

चक्रवातका कारण छिमेकी मुलुक भारतका महाराष्ट्र, केरल, तमिलनाडु, कर्नाटक, गुजरातलगायत क्षेत्रको जनजीवन आइतबारदेखि नै प्रभावित भएको छ ।

Back to top button