विराटनगर महानगरका मेयरलाई खुल्ला पत्र

गोकर्ण घिमिरे– विराटनगर ।

मेयर साब, कोराना महामारीसँग जुधिरहेका संक्रमितका लागि तपााईंले अहोरात्र खटिएको तस्बिर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएको देख्दा साह्रै खुशी लाग्छ । मध्यरात नभनि तपााईं आफै गाडीमा बसेर संक्रमितको घरमा अक्सिजन पुर्‍याइदिएका, घर–घरमा आफै उपस्थित भएर अक्सिजन दिनु भएका पोष्टहरु हेर्न पाउँदा हर्ष विभोर हुइन्छ । अझ, जुन परिवारका लागि तपााईंले यो गुण लगाउनु भएको छ त्यो त अमिट गुण हुनु स्वभाविक नै हो ।

अझ तपाईंलाई भन्दा तपाईले अस्पतालको बेड खोजिदिएको, आफैं चढ्ने गाडि एम्बुलेन्सका रुपमा प्रयोग गरेको, मेयर साबकै पहलमा शव वहानको व्यवस्था भएको भन्दै यहाँको प्रशंसाले भरिएका पोष्टहरु पनि सामाजिक सञ्जालमा आउँदा हामी नगरबासीलाई त आनन्द आउँछ भने तपाईं स्वयम्लाई गर्व लाग्नु स्वभाविक हो ।

यही बीचमा तपााईंले गरेका यी तमाम् काम सस्तो लोकप्रियताका लागि भएको भन्दै केही विरोध पनि भए । कतै सामाजिक सञ्जालमा, कतै मिडियामा । ती विरोध र असन्तुष्टिका विषयमा तपाईंलाई राम्रो ज्ञान छ । त्यसैले त तपाईले पनि असन्तुष्टी उसैगरि सामाजिक सञ्जाललबाट पोख्नु भयो । केहिबेरमै सञ्चारमाध्यमका समाचार बने ।

मेरो तपाईंप्रति कुनै वैरभाव छैन । किनकी न म तपाईंको प्रतिष्पर्धि हो ? न तपाईं मेरो । हो त केवल तपाईं नगरप्रमुख, म तपाईंको महानगरको जनता । हामी जनताले चाहेको तपााईंले अहिले गरिरहेको राम्रोसँग भात नै नखाई, घर परिवार नभनी राति राति दौडनुपर्ने दुःख होइन । तपाईंले पनि घरमै बसेर नै किन नहोस, यो महामारीका बेला ठन्डा दिमागले नगरबासीलाई कसरी जोगाउन सकिन्छ भन्ने योजना बनाउन सक्नुहोस । आवश्यकता अनुशारको राय र सहयोग लिन सक्नुहोस ।

ताकि हामीले गर्वका साथ भन्न पाइयोस्,

विराटनगर महानगरमा उपचारका लागि अस्पतालको बेड छैन भन्ने दिन आउदैन । अक्सिजन नै चाहिए मेयरलाई खबर गरे पाइहालिन्छ नभए भन्न सकिन्न भन्ने दिन आएको छैन । वा अस्पतालले नै अक्सिजनको व्यवस्था गर्न सक्ने वातावरण बनाइएको छ । कुनै संक्रमित भए महानगरको हटलाईनमा फोन गरेको केही मिनटमै एम्बुलेन्स पुग्छ । आवश्यकता अनुसार आइसोलेसन सेन्टर वा कोभिड अस्पताल पुर्‍याउँछ । उपचार गर्दागर्दै ज्यान नै गयो भने महानगरले नै शव वाहनको व्यवस्था गरेको छ । यी सवै सुविधा लिन महानगरका मेयरलाई हैन, उल्लेखित हटलाईन (जतिबेला पनि फोन लाग्ने) नम्बरमा कल गरे पुग्छ ।

शंका लागेका सवैले सहजै कोरोनाको टेष्ट गर्न सक्छन् । संक्रमितको उपयुक्त ठाउँ भए घरमा, नभए महानगरले तोकेका आइसोलेसन केन्द्रमा पठाइन्छ । स्वास्थ्यसम्बन्धी कुनै जानकारी लिनु परे त्यस्तै हटलाइन नम्बरमा फोन गर्दा पुगिहाल्छ । केही साह्रो गाह्रो भए तत्काल एम्बुलेन्स पुगिहाल्छ । एम्बुलेन्सका लागि मेयर उपमेयरकै गाडी चाहिदैन महानगर क्षेत्रमा रहेका सवै एम्बुलेन्सलाई एकत्रित गरिएको छ । अपुग हुने भएपछि थप एम्बुलेन्सको व्यवस्था गरिएको छ । यानिकि प्रर्याप्त एम्बुलेन्स छन् ।

दैनिक ३ सयको हाराहारीमा संक्रमित थपिएर के भयो ? महानगरले पनि उस्तैगरि अस्थायी नै किन नहोस धमाधम आइसोलेसन केन्द्र निर्माण गरिरहेको छ । महानगरसँग पर्याप्त बजेट नभएर के भयो ? सहयोग गर्नेहरुको लाम छ । महानगरका मेयरसाबले आफ्नो क्षमता यसरी देखाउनु भएको छ कि यो त देशकै लागि एउटा उदाहरण हो । यहाँ मेयरसँग दोहोरो चिनजान भएको हुनुपर्छ भन्ने नै छैन । मात्र सिस्टम बुझे भइहाल्छ ।

अझ महानगरको समन्वयमा केही सपिङसेन्टरहरुले आवश्यक वस्तुहरु साविककै मूल्यमा घर–घरमै ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । त्यसैले कुनैपनि बहानामा नगरबासीले घरबाहिर निस्कनुपर्ने छैन । निषेधाज्ञाको पूर्ण पालना भएको छ । मेयर साबको चिन्तनकै कारण अहिले बजारमा कालोबजारी हुन पाएको छैन । सवै निकायहरु अत्यन्त जिम्मेवार भएर महामारी नियन्त्रणमा अन्तरमनदेखि कृयाशिल छन् । अस्पतालहरु उस्तै जिम्मेवार छन् । विरामीकै उपचारका लागि चिकित्सकहरु अहोरात्र खटिएका छन् । जनताको चिकित्सकप्रति उस्तै सम्मान भाव छ । यहाँ स्वयम्सेवी नै भएर महानगरले अघि सारेको अभियानमा साथ दिन चाहनेको लाम छ । सवै निकाय अहोरात्र खटिन तयार छ । मेयर साब, जनताको वास्तविक अपेक्षा यो हो ।

हाम्रो बुझाईमा मेयरसाब्, नगरप्रमुखले सवै काम आफै गर्ने होइन होला, तर सवै काम हुने वातावरण बनाउने हो । महानगरमा दैनिक कति संक्रमित थपिए, कति होम आइसोलेसन र कति अस्पतालमा छन् भन्ने डाटा लिए मात्र पुग्छ । अरु त सवै काम तपाईको सिस्टमले गर्नु पर्थ्यो । तर त्यसो गर्न नसक्ने बरु तपाईंसँग पहुँच राख्नेहरुको तपााईंले एउटा सिलिण्डर आफै पुर्‍याएर फोटो पोस्ट्याउनुको के अर्थ होला र ? एक्लै तपाईंले जतिसुकै दौडे पनि, यसले त तपाईंको नेतृत्वदायी क्षमतामा नै प्रश्न उठाउँछ । भएको त्यहि हैन र ?

एउटा नगरबासीको अपेक्षा हो । धन्यवाद ।

Back to top button