लमजुङमा गएको भूकम्पले ६ जना घाइते २७ घरमा क्षति

लमजुङ । लमजुङमा बुधबार बिहान गएको भूकम्पले ६ जना घाइते भएका छन् । भूकम्पले २७ घरमा क्षति पुगेको छ । बिहानदेखि निरन्तर पराकम्प गइरहेकाले सर्वसाधारण घर बाहिर खुल्ला ठाउँमा बसेका छन् ।

बुधबार बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका ८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएपछि बेंसीसहर नगरपालिका ६ चनौटेमा घर भत्किएको जिल्ला प्रहरी लमजुङले जनाएको छ ।

भूकम्प गएपछि बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रले बिहानदेखि २० भन्दा बढी पराकम्प गएको र यो सबै २०७२ साल वैसाखमा गारेखाको बाारपाक केन्द्रबिन्दु बनाएर गएको भूकम्पकै पराकम्प रहेको जनाएको छ ।

भूकम्पले घरको पर्खाल खसेर ३ जना र भागदौडका क्रममा ३ जना गरी ६ जना भाइते भएकाो जिल्ला प्रहरी लमजुङले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

हालसम्ममा २७ वटा घरमा क्षति पुगेको तथ्यांक संकलन गरिएको प्रहरीले जनाएको छ । भूकम्पले भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Back to top button