
मोरङ । रंगेली नगरपालिका ३ चिलुवास्थित नहरमा २४ वर्षीया महिलाको हत्या घटना देवरले नै गरेको खुलेको छ । मृतक अनिताका देवर १९ वर्षीय बिनोद यादवले दाउ प्रहार गरी हत्या गरेको खुलेको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
स्थानीयले नहर नजिक महिलाको शव देखेपछि प्रहरीलाई बुधबार बिहान खबर गरेका थिए । जिल्ला प्रहरी मोरङले तत्काल डिएसपी मन्जिल मुकारुङको नेतृत्वमा इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहितको टोली अनुसन्धानका लागि खटाएका थिए ।
अनुसन्धान टोलीले अनिताको परिवारका सदस्य पति बेचन, सासु बिजलीदेवी र ससुरा रामु यादवलाई सोधपुछ गर्ने क्रममा उनको देवर विनोद घरमा नभेटेपछि प्रहरीको अनुसन्धान उनीमाथि सोझियो ।
प्रहरीले उनलाई खोजी गर्ने क्रममा रंगेलीबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेपछि घट्नाको बेलिबिस्तार खुलेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनु भयो । विनोद र अनिताबीच मंगलबार साँझ विवाद भएको थियो ।
विवादपछि पति बेचन साँझसम्म घर नआएपछि अनिता उनलाई खोज्न घर बाहिर निस्किन् । अनितालाई पछ्याउँदै विवेक पनि गए । पछ्याउँदै जाने क्रममा घरबाट डेढ किलोमिटर उत्तर नहरको डिलमा गएपछि दुबै जनाबीच पुनः विवाद भएको राईले बताउनु भयो ।
‘नहरको डिलमा विवादको क्रममा बिनोदले भाउजु अनितालाई धकेलेर लडाएपछि साथमा ल्याएको दाउले घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उहाँले भन्नु भयो, ‘हत्या गरेपछि विनोद घरमा आएर दाउ र लुगा सफा गरेर राखेपछि उनका दाजु बेचन पनि आइपुग्यो ।’
बेचनले अनितालाई घरमा नदेखेपछि खोजी गर्न घर बाहिर निस्के । उनीसँग बिनोद पनि सँगै खोजी गर्न गए तर राती अबेरसम्म कही फेला नपरेपछि फर्केर आई दुबै जना सुतेका थिए । बिनोद बिहानै सुतेर उठेपछि घरबाट भागेका थिए ।
इलाका प्रहरी रंगेलीले विनोदमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर घट्नामा परिवारका अन्य सदस्यको संलग्नता भए नभएको विषयमा अनुसन्धान गरिरहेको राईले बताउनु भयो ।