प्रतिकुलतालाई अनुकुलतामा बदल्न मन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोरोना महामारीले निम्तिएको प्रतिकुलतालाई अनुकुलतामा बदल्न निर्देशन दिनु भएको छ । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुको क्षमता विकास गरेर अघि बढ्न उहाँले निर्देशन दिनु भएको हो ।

प्रदेश १ का स्थानीय तहका प्रमुख/उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरु लगायतसँग आज गरिएको भर्चुअल बैठकमा उहाँले कोरोना संक्रमण सकिएपछि जिल्ला स्तरमा रहेका अस्पतालहरुले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरिको बनाउनमा उहाँले जोड दिनुभयो ।

मन्त्री राईले भन्नुभयो,‘ जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाण्डौं, विराटनगर धाउनु नपरोस् ।’ उहाँले जिल्ला स्तरमा व्यवस्थित अस्पतालको आवस्यकता रहेकोमा पनि जोड दिनुभयो ।

झापा, मोरङ र सुनसरी बाहेकका जिल्लाका नागरिकलाई स्वास्थ्य उपचारमा समस्या रहेको उहाँले बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ जिल्ला स्तरमा अव हामी व्यस्थित अस्पताल बनाऔं ।’

प्रदेश सरकार, स्थानीय सरकार र दातृ निकायसँगको सहकार्यमा काम अघि बढाउन आवस्यक रहेकोमा उहाँको जोड छ । उहाँले भन्नुभयो,‘ स्वास्थ्यका लागि योजना बनाएर अघि बढौैं, कोभिडले हामीलाई यो कुरा सिकाएको छ ।’

मन्त्री राईले स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्री लगायतको माग आईरहेकोले आवस्यकताका आधारमा चाडैं पठाइने बताउनुभयो ।

उहाँले स्वास्थ्य कार्यालयहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि ५–५ लाखका दरले सवै जिल्लाहरुमा रकम पठाईने तयारी भईरहेको जानकारी दिनुभयो ।

उहाँले स्थानीय तह तथा जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि अहोरात्र खट्ने, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरु लगायतलाई धन्यवाद दिनुभयो ।

बैठकमा सहभागि स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरुले कोरोना संक्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।

Back to top button