कोरोना, कर्तब्य र जिम्मेवारी

उत्तम ढुंगेल,

कोरोना भाइरसको दोस्रो लहरले यति बेला जनजीवन अस्तव्यस्त बनेको छ। कोरोनाको लहरको क्रमभंग गर्न सरकारले निषेधाज्ञा जारि गरेको छ। मानिसहरु घर भित्र बस्न बाध्य छन् । घर भित्र बस्न बाध्य मात्र छैनन् डर र त्रास पनि सँगै पालिएको छ। घर छिमेक नजिकका इस्टमित्र आफन्तजन कोरोनाको शिकार भएको टुलुटुलु हेर्न बाध्य छन् । कोरोना लागेका आफन्त नजिक जान पाएका छैनन्। कोरोनाले मृत्युवरण गरेका आफन्त प्रियजन सँग अंकमाल गरेर रुन सकेका छैनन्। बिचित्र र भयावह अवस्थामा बाच्न बाध्य छन् सम्पूर्ण नेपाली । यहाँ कोरोनाले न ठुलो मान्छे भनेको छ, न सानो मान्छे । सबैमा यसको कहर बराबर छ। अझ तेस्रो लहरको भेरियेन्टको चर्चा सुरु भइसकेको छ ।

नागरिक भय र त्रासमा हुँदा समेत तीन तहको सरकार बाट केहि भएन भन्ने जनगुनासो छ। संघीय सरकार यति बेला सरकारको मोर्चा निर्माणमा ब्यस्त रहेको गुनासा पर्याप्त सुन्न पाइन्छ। यद्यपी संघिय सरकारले आम जनताको समस्यालाइ सम्बोधन गर्ने गरि संघीय  अस्पताल ,निजि अस्पतालहरु मा नीतिगत ब्यवस्था गरिरहेको पाइन्छ। जस अन्तर्गत नीजि अस्पतालहरुले कोरोनाका बिरामीहरुको उपचारमा सकेसम्म काम गरिरहेका छन्। सँगसँगै अत्यधिक शुल्क असुलेको ,अतिआवश्यक औषधी लुकाएको ,कालाबजारी गरेको जन गुनासो पनि उत्तिकै छ।

खोपको उपलब्धता, औषधीको जोहो, अक्सिजनको सर्वसुलभतामा संघीय सरकारले कार्य गरेको देखिन्छ। युरोप ,अमेरिका जस्ता अति बिकसित मुलुकले त गत सालको कोरोना महामारीमा ठूलो धनजनको क्षति बेहोरेको कसैबाट लुके–छिपेको छैन । हाम्रो जस्तो गरिब राष्ट्रले कोरोना बिरुद्ध गरेको कार्य सन्तोषजनक नै मान्नु पर्दछ। प्रदेश सरकारले खोपको ब्यवस्थापन गरि स्थानीय सरकार मार्फत काम गरिरहेको छ। पहिलो चरणको खोप सबैमा पुगिसकेको छैन। यद्यपी पहिलो चरणको खोप लगाउनेको संख्या राम्रै छ। दोस्रो चरणको खोपको सुरुवात हुँदा हुँदै यो नयाँ भेरीएन्टको चपेटामा नागरिक परे।

दोस्रो चरणको खोप पाइप लाइनमा रहेको बुझिएको छ। आशा गरौं, यो महिना देखि जनताले दोस्रो खोप पनि प्राप्त गर्ने छन्। पीसीआर चेक जाँचमा प्रदेश ल्याबहरु, नीजि ल्याबहरु होस् कि सरकारी अस्पताल सबैले जाँच गरिरहेकै अवस्था देखिन्छ। यद्यपी ढिलासुस्ती हाम्रो संस्कार बनेको सर्वबिधितै छ। प्रदेश सरकार मातहातको कोशी कोभिड अस्पतालले यति बेला आम जनतालाइ दिएको सेवा प्रशंसनीय छ। केहि साना कमीकमजोरीलाइ सुधार्नु पर्ने चाहीं पक्कै छ।

यति बेला जनता संग प्रतक्ष्य जोडिएको स्थानीय सरकार चाहीं चुकेको देखिदै छ । जनप्रतिनिधिहरुले आफु खुसि आफ्ना गतिबिधिलाइ सस्तो लोकप्रियताका लागि कार्य गरेको देखिन्छ। स्थानीय सरकारले संघीय र प्रदेश सरकारले दिएको सेवा सुबिधाको न्यायोचित प्रबन्ध गर्न नसकेको देखिन्छ। ब्यवस्थापकीय जिम्मेवारी छोडी आफूखुसी राजनीति गर्ने चक्करमा आफ्नो हावा खुस्किएको स्थानीय सरकारका प्रतिनिधिहरुले पत्तै पाएनन्।

आफु चढेको गाडी दिए भन्नेहरु ले एम्बुलेन्सको समुचित ब्यवस्थापन गर्न सकेनन्। अक्सिजन घर–घर पुराउने जनप्रतिनिधिहरुले समुचित अक्सिजनको प्रबन्धमा आम नागरिकको स्वास्थ्य प्रतिकुल पार्ने कार्य समेत गरे । अक्सिजन बारे भ्रम छरे । स्थानीय सरकारले यो काम गर्यौ भन्ने भन्दा पनि, मैले यो काम गरे भन्ने सस्तो लोकप्रियतामा जनप्रतिनिधि रमाएको पाइन्छ । फेरी पनि केहि स्थानीय तहहरुले उदाहरणीय कार्य गरेका छन्। यति बेला नागरिकको समस्यामा हातेमालो गर्न थुप्रै सामाजिक संघ संस्थाहरु पनि अघि सरेका छन् ।

चिकित्सा क्षेत्रको सहयोग अतुलनीय छ। आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खट्ने स्वास्थ्यकर्मीको मनोबल र हौसला बढाउने कार्य सबै सरकारले गर्न जरुरी छ । कोरोनाका बिषयमा फैलिएका भ्रम चिर्न अति जरुरी छ। जनतामा रेम्डिसिभिर औषधीको प्रयोग र आवश्यकता, प्लाज्मा थेरापीको आवश्यकता र प्रयोग त्यसैगरि नियमित व्यायाम, खानपिनआदीका बारेको सूचना सहि र दक्ष प्राबिधिकबाट आउनु पर्दछ। अब निषेधाज्ञाको अवस्थामा दैनिक जन– मजदुरी गरिखानेका बिषयलाई पनि सरकारले सम्बोधन गर्नुपर्छ ।

आम नागरिकको दैनिक जीवन, स्वास्थ्य अवस्था, ब्यापार ब्यवसाय बन्द हुँदा बैंकको ब्याज, कर्मचारी तलबको ब्यवस्थापनलगायतका ब्यापार व्यवसायका थुप्रै समस्या छन् । तिनका बारेमा पनि सरकारले यो पटकको बजेटबाट सम्बोधन गर्नु जरुरी छ । जीवनलाइ जोगाउन यति बेला स्वास्थ्य निर्देशिकालाइ पालना गर्नु आम जनताको कर्तब्य हो । यस्तै जनताको दैनिक जीवनमा आइपर्ने समस्या निराकरण गर्ने दायित्व सरकार को हो भन्ने नियमलाइ पालना गर्दा नै सबैको हित हुने निश्चित छ।

                                                                                                     लेखक : पब्लिक फोरम विराटनगरका अध्यक्ष हुनुहुन्छ ।

Back to top button