दुर्घटनामा दुईको मृत्यु, तीन जना घाइते

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका– २ जयचोकमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

स्कारपियोलाई पहिचान नखुलेको गाडीले गएराती ठक्कर दिँदा झापा गाउँपालिका– ५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रङ्गेली– ३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवाकोटीको मृत्यु भएको हो ।

झापाबाट कानेपोखरीमा बिरामी हेर्न आउने क्रममा मे१च १८५१ नम्बरको स्कारपिओलाई विपरित दिशाबाट आएका गाडीले ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी मोरङका डिएसपी मानबहादुर राईले बताउनु भयो ।

उहाँले ठक्कर दिने गाडी भागेकाले पहिचान हुन सकेको छैन यद्यपी खोजी भइरहेको बताउनु भयो । घट्नास्थलमा ना २ ख ९४७३ नम्बरको प्लेट पनि फेला परेकोले अनुसन्धान भइरहेको राईले बताउनुभयो ।

दुर्घटनामा स्कारपियो चालक झापाको बिर्तामोड नगरपालिका २ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, झापा गाउँपालिका २ की ४५ वर्षीया विनिता पौडेल र झापा हल्दिबारी गाउँपालिका ५ का २५ वर्षीय रोशन उप्रेती घाइते हुनुभएको छ ।

उहाँहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये रोशन र विनिताको अवस्था गम्भिर रहेको डिएसपी राईले बताउनुभयो ।

दुर्घटनामा पर्नेहरु कानेपोखरी–२ का आफन्त विरामी भएकाले भेला हुन आएका परिवारका सदस्यहरु रहेको राईले बताउनु भयो ।

Back to top button