निषेधाज्ञा रहुन्जेल आइपीओ निष्कासन नहुने

विराटनगर । नेपाल धितोपत्र बोर्डले निषेधाज्ञा जारी रहुन्जेल आइपीओ निष्कासनको अनुमति नदिने भएको छ । डिम्याट खाता खोलेका सवैले मेरो शेयरको सुविधा नलिएकाले आइपीओ खोल्दा बैंकमा भिडभाड हुने भन्दै बोर्डले यस्तो निर्णय गरेको हो ।

बोर्डका सह प्रवक्ता रुपेश केसीका अनुशार कोरोना भाइरसको संक्रमण फैलनसक्ने सम्भावना हुने भन्दै बोर्डले निषेधाज्ञाको समयभरि आइपीओ जारी नगर्न निर्देशन गरेको छ । निषेधाज्ञाकै समयमा मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थानीयका लागि जारी गरेको आइपीओ पनि बिचमै स्थगित भएको थियो ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुशार हिजोसम्म ३५ लाख ३७ हजार ४ सय ५२ जनाले डिम्याट खाता खोलेका छन् भने मेरो शेयरको सुविधा लिएर आइपीओ भर्नेहरुको संख्या करिव २६ लाख छ ।

यद्यपी निषेधाज्ञाको समयमा पनि ऋणपत्र र म्युचुअल फन्ड निष्कासनका लागि बोर्डले कुनै रोकतोक गरेको छैन । म्युचुअल फन्ड र डिबेन्चर सबै मेरो शेयरबाट भरिने गरेका छन् ।

Back to top button