राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । केहिबेर अघि बालुवाटारमा सम्पन्न पत्रकार सम्मेलनमा उहाँले कोभिड महामारीसँग जुधिरहेका बेला राष्ट्रिय सरकार बनाउन सक्दा सवैको हित हुने भन्दै यस्तो प्रस्ताव गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘म अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड १९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’ राष्ट्रिय सहमति कायम हुन नसके उहाँले सरकारको विकल्प दिन आग्रह गर्नुभएको छ ।

उहाँले आज बिहान मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी वैकल्पिक सरकार बनाउन आग्रह गरेको भन्दै वैकल्पिक सरकार बनाउन आग्रह गर्नुभएको हो । वैकल्पिक सरकार समेत बनाउन नसक्दा भने आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन उहाँले आह्वान गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘आउनुहोस् मेरो नेतृत्व राष्ट्रिय सरकार बनाउँ, सवैलाई समेटेर साझा भूमिका खेल्ने छु ।’ उहाँले वैकल्पिक सरकार बनेको अवस्थामा आफू प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । विकल्प पनि नदिने सरकार पनि चल्न नदिने वातावरण बनाईरहँदा निर्वाचनमा जानुको विकल्प नहुने भन्दै त्यसको भागिदार विपक्षी दलहरु हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिलेसम्मको अवस्था आउन सरकारको हैन विपक्षी दलहरुको भूमिका छ ।’

पत्रकारहरुको जिज्ञासामा उहाँले आफूलाई विश्वासको मत लिन मन नलागेको बताउनुभएको छ । दिनदिनै आफ्नो बदनाम र चरित्र हत्या गर्ने मात्र काम भइरहेको भन्दै उहाँले यस्तो प्रवृत्तिले आफूलाई दिक्क बनाएको बताउनुभयो ।

उहाँले आफूलाई सरकार चलाउन मन नभएकै कारण राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्न सिफारिस गरेको बताउनुभयो । ‘चलाउने भए मैले विश्वासको मत माग्नुपथ्र्यो ’ प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘मलाई चलाउनु छैन, त्यसकरण राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्नुहोस् भने ।’

यद्यपी उहाँले नयाँ प्रक्रियामा सरकारको दावी भने गर्ने बताउनुभयो । ‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसिस गरिरहेको छु । त्यसमा राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने सरकार चलाउँछु । अनि एक महिनाभित्र विश्वासको मत लिन्छु,’ उहाँले प्रष्ट्याउनुभयो ।

त्यसबेला पनि विश्वासको मत नपाए संसद विघटन भएर चुनावमा जाने वातावरण बन्ने उहाँले बताउनुभयो । यो अवस्था आउन दिने – नदिने विपक्षी दलहरुकै तजबिजीमा भरपर्ने उहाँको भनाई थियो ।

Back to top button