उच्च अदालत विराटनगरद्वारा कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश

विराटनगर । उच्च अदालत विराटनगरले कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न प्रदेश १ सरकार र विराटनगर महानगरको नाममा आज अन्तरिम आदेश गरेको छ । उच्च अदालतका न्यायाधिस कृष्णकमल अधिकारीको एकल इजलासले दुबै चरणको खोप प्रभावकारी रुपमा व्यवस्था गर्न आदेश दिएको हो ।

अधिवक्ता मयुर अग्रवालले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश १, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, महानगर प्रमुख भीम पराजुली र महानगरको स्वास्थ्य महाशाखालाई विपक्षी बनाई रिट निवेदन दायर गर्नु भएको थियो ।

नेपालको संविधानको धारा ३५ को उपधारा ३ ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरेको छ । उक्त संवैधानिक व्यवस्था अनुसार राज्य संयन्त्रले नागरिक प्रतिको आफ्नो कर्तव्य पूरा गर्नु बाञ्छनीय रहेको भन्दै अदालतले ध्यानाकर्षण गराएको छ ।

कोभिड १९ ले आक्रान्त बनाएको र बढ्दो संक्रमणले त्रसित बनाएको अवस्थामा राज्यबाट नागरिकप्रति गम्भिर ढंगले जिम्मेवारी बहन गर्न अदालतले आदेश दिएको उच्च अदालतका ओम सुवेदीले बताउनु भयो ।

कोरोनाविरुद्धको खोपका लागि सम्बद्ध निकायबीच समन्वय गरी अविलम्ब दुबै चरणको खोपको प्रभावकारी व्यवस्था गर्न गराउन र त्यसको अद्यावधिक तथ्यांक राख्न विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको सुवेदीले बताउनु भयो ।

Back to top button