प्रधानमन्त्रीका लागि ओली र विपक्षी गठबन्धनको दावी, कानुन हेरेर निर्णय लिने राष्ट्रपतिको प्रतिकृया

निर्णयका लागि समय लाग्ने

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसामु दावी गर्नुभएको छ ।

ओलीले १सय ५३ र देउवाले १ सय ४९ मतसहितको दावी पेश गर्नुभएको हो । दुवै पक्षको दावी परेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन हेरेर निर्णय लिने प्रतिकृया दिनुभएको छ ।

देउवाले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षका सांसदसहित १ सय ४९ जना सांसदसहितको हस्ताक्षर बुझाउनुभएको हो । ति मध्ये एमालेका माधव नेपाल पक्षका केहि सांसदहरुले आफुुले देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर नगरेको प्रतिकृया दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका १ सय २१ र जसमाका ३० जना सांसद आफ्नो पक्षमा रहेको दावी पेश गर्नुभएको छ । तर एमालेकै माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव भने देउवाको तर्फबाट दावी पेश गर्न राष्ट्रपति कार्यालय नै पुग्नुभएको थियो ।

यता सांसदहरुले हस्ताक्षरको दुरुपयोग गरेको गुनासो आएपछि राष्ट्रपतिले गर्ने निर्णयका लागि समय लाग्ने देखिएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले केही सांसदको गुनासो आएको भन्दै आवश्यक परे कानुनी परामर्श र बाटो लिनुपर्ने बताउनुभएको छ ।

Back to top button