प्रदेश १ मा रिएजेन्ट अभाव

डिएन पथिक,

विराटनगर । प्रदेश १ मा पिसिआर परीक्षणका लागि रिएजेन्ट अभाव भएको छ । प्रदेशसभाको सामाजिक विकास समितिले आयोजना गरेको छलफलमा झापाको मेची अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा. पिताम्बर ठाकुरले प्रयोगशालामा रिएजेन्ट अभाव भएकाले आजदेखि पिसिआर परीक्षण रोकिने अवस्था सृजना भएको बताउनु भयो ।

‘पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, इलाम, पाँचथरका साथै झापा जिल्लामा पनि संकलित स्वाब परीक्षणका लागि प्रयोगशालामा आउने गरेको तर रिएजेन्ट अभावले परीक्षण नै रोकिने अवस्था आएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले यहाँका आपूर्तिकर्ताहरुले तत्काल रिएजेन्ट उपलब्ध गराउन असमर्थता देखाएको र विदेशबाट पनि आयात गर्न समस्या रहेकाले रिएजेन्ट अभाव भएको हो ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले प्रदेशभरिका प्रयोगशालाहरुमा रिएजेन्ट अभावले पिसिआर परीक्षणमा समस्या भएको बताउनुभयो । उहाँले रिएजेन्ट आपूर्तिका लागि पहल भइरहेको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले रिएजेन्ट मुलुकमै अभाव भएकाले आपूर्तिमा समस्या भएको स्विकार्नु भयोे । उहाँले विदेशबाट आयातकर्ताहरुलाई आयात गर्न अहिलेको समयमा भएको कठिनाईले यस्तो अवस्था सृजना भएको बताउनुभयो ।

प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मेची अस्पताल, विराट मेडिकल शिक्षण अस्पताल, नोवेल अस्पताल, कोटिहम पिसिआर प्रयोगशाला कनकाई, झापालगायत २ वटा निजी पिसिआर प्रयोगशालामा पिसिआर परीक्षण हुँदै आएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब नमूना कम संकलन भइरहेको प्रतिष्ठानका रजिष्टार डा. मोहनचन्द्र रेग्मीले बताउनुभयो । उहाँले अघिल्लो कोरोना महामारीका बेला १ हजारसम्म स्वाब नमूना परीक्षणका लागि आइरहेकोमा अहिले १ सय देखि डेढसयसम्ममात्रै आउने गरेको बताउनुभयो ।

प्रदेश १ मा रिएजेन्ट अभावमा बिहीबारदेखि पिसिआर परीक्षणको संख्या घटदै गएको हो । दुई हजार बढी स्वाब परीक्षण हुँदै आएकोमा बिहीबार १ हजार ४११ र शुक्रबार १ हजार ७७७ स्वाब नमूना मात्रै परीक्षण भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकले जनाएको छ ।

यसअघि प्रदेशमा एन्टिजेन अभाव भएकाले पिसिआर परीक्षणको संख्या बढेको सचिव कार्कीले बताउनुभयो । उहाँले रिएजेन्ट अभाव भइरहेको अवस्थामा बिहीबार १४ हजासर ७५० थान एन्टिजेन आएकोले केही राहत भएको बताउनुभयो ।

Back to top button