सांसदहरु अदालत नगए मुलुकमा गम्भिर संकट निम्तिन्छ : शेखर कोइराला

विराटनगर । कांग्रेसका नेता डा। शेखर कोइरालाले संविधान र गणतन्त्रको रक्षाका लागि पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुले सर्वोच्च अदालत नगए मुलुकमा गम्भिर संकट निम्तिने बताउनु भएको छ ।

विराटनगरस्थित कोइराला निवासमा आज पत्रकारसँगको कुराकानीमा उहाँले सांसदहरु कानूनी उपचारमा गए सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गर्नु भएको हो । राष्ट्रपति र प्रधानमन्त्री दुबैले संविधान र गणतन्त्र समाप्त पारेर सत्ता कब्जा गर्न खोजेको कोइरालाको आरोप थियो ।

‘संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत प्राप्त नगरेपछि पदमुक्त हुनु पर्ने थियो तर उहाँ प्रधानमन्त्री रहिरहनु भयो,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने अवस्थामा राष्ट्रपति जीले उहाँलाई नै प्रधानमन्त्रीमा संवैधानिक व्यवस्था विपरित निरन्तरता दिनु भयो ।’

रोचक कस्तो छ भने हिजोसम्म आफूसँग बहुमत नरहेकोले सरकार चलाउन गाह्रो भएको भन्दै आएको अवस्थामा माधवकुमार नेपाललाई समेत आफैसँग भएको भन्दै १५३ सांसदको समर्थन देखाउनु नै प्रधानमन्त्री ओलीको असक्षमता भएको कोइरालाले बताउनु भयो ।

सभापति देउवासँग राष्ट्रपतिसमक्ष माधवकुमार नेपाल उपस्थित हुँदाहुँदै पनि ओलीसँग कसरी हुन सक्छ भन्ने राष्ट्रपतिले नबुझ्नु अनैतिक भएको उहाँले टिप्पणी गर्नुभयो ।

‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली दुबै जनाले २०६२/६३ को आन्दोलनताका आफूहरु जेल परेको अवस्थामा भेट्न आउँदा आन्दोलनले केही नहुने र राजाले केही दिनेवाला छैनन् भनेर सम्झाउन आउनु भएको थियो,’ कोइरालाले भन्नुभयो, ‘त्यति वेला ओली जीले भनेको बयलगाडामा अमेरिका पुगिदैन भनाई अहिले पनि चर्चामा छ । त्यसैले उहाँहरुले संघीयता र गणतन्त्र चाहनु भएकै छैन जसको परिणाम संविधानलाई च्यातेर दोस्रो पटक संसद विघटन गरियो ।’

एकतन्त्रीय शासन व्यवस्था लाद्न उद्दत प्रधानमन्त्री ओलीको षड्यन्त्रबाट मुलुकलाई जोगाउनु नै अहिलेको लागि ठूलो सफलता हुने कोइरालाको भनाई थियो ।

‘प्रधानमन्त्री ओली जीले सर्वसत्तावाद लाद्ने षड्यन्त्रमा कांग्रेसलाई अहिलेको सरकारमा सामेल गराउने खेल सुरु गरिसक्नु भयो,’ कोइरालाले भन्नुभयो, ‘कांग्रेस कुनैपनि हालतमा अहिलेको असंवैधानिक सरकारमा सहभागी हुन मिल्दैन र कांग्रेसले गम्भिरतापूर्वक संविधान र गणतन्त्रको रक्षाका लागि राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध उभिन सक्नु पर्छ ।’

संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेसले कानूनी लडाइसँगसँगै सञ्चार माध्यममार्फत राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध जनमत तयार गर्नुको विकल्प नभएको कोइरालाले बताउनुभयो । उहाँले अहिलेको कोरोना महामारीले भुलेर पनि सडक संघर्षमा जान नमिल्ने स्पष्ट पार्नुभयो ।

‘लोकतन्त्रमा विश्वास राख्ने कांग्रेस निर्वाचनबाट भाग्न मिल्दैन र भाग्दैन पनि तर संविधानसम्मत निष्पक्ष निर्वाचनको ग्यारेण्टी हुनु पर्छ,’ कोइरालाले भने, ‘प्रधानमन्त्री ओली जीको नेतृत्वमा निष्पक्ष र स्वतन्त्र निर्वाचन असंभव छ । त्यसका लागि संविधानको अस्तित्व स्विकार्नु पर्छ ।’

अब प्रधानमन्त्री ओलीले राजनीतिक अवस्था र कोरोना महामारीले तोकेको समयमा निर्वाचन गराउन नसके मुलुक अँध्यारो सुरुङमा फस्ने भएकाले देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुले तत्काल सर्वोच्च अदालत जानुको विकल्प नभएको कोइरालाको भनाई थियो ।

Back to top button