निर्वाचनका कारण कोरोनाको महामारी नफैलियोस, महामारीले निर्वाचन नरोकियोस : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २६ र मंसिर ३ गते लाई निर्वाचन तोकिएपछि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा उहाँले निर्वाचनका कारण कोरोनाको महामारी फैलन दिन नहुने बताउनुभएको छ ।

यस्तै उहाँले कोरोनाकै कारण निर्वाचन पनि रोकिन नहुने बताउनुभयो । निर्वाचनको मितिबारे औपचारीक जानकारी गराउँदै प्रधानमन्त्री ओलीले निर्धारीत समयमा निर्वाचन गराउनका लागि तयारी थाल्न समेत आग्रह गर्नुभएको छ ।

छलफलका क्रममा सरकारले स्रोतको प्रबन्ध गर्ने भन्दै प्रधानमन्त्रीले आयोगलाई कुनै कमजोरी नराखि काम गर्न भन्नुभएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीले महामारीकै बेला निर्वाचन सम्पन्न भएका देशहरुको अवस्थाको अध्ययन गर्न पनि सुझाव दिनुभएको छ । आयोगका तर्फबाट प्रमुख आयुक्त थपलियाले आफूहरू निर्धारित समयमा नै निर्वाचन गराउनु सफल हुने बताउनुभएको छ ।

गएराति प्रतिनिधि सभा विघटन गरिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो चरणको निर्वाचन २०७८ कात्तिक २६ गते र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते शुक्रबार सम्पन्न गर्ने गरी मिति तोक्नुभएको छ ।

छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्वकानुनमन्त्री अग्नि खरेललगायतको सहभागीता थियो ।

Back to top button