घरबाहिर निस्किनेलाई दुई सय जरिवाना

काठमाडौं । के तपाईं निषेधाज्ञा उलंघन गरेर घरबाहिर निस्किरहनु भएको छ । हो भने साथमा दुई सय रुपैयाँ लिएर निस्किनु होस् किनकी निषेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले ठाउँको ठाउँ दुई सय रुपैयाँ जरिवाना तिराउने व्यवस्था गरेको छ ।

गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई निषेधाज्ञा अवधिभरि सर्वसाधारणलाई घरबाहिर निस्किन नदिन परिपत्र गरी निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सुरक्षा निकायका प्रमुखहरुलाई कोरोना महामारीको चेन ब्रेकका लागि निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिनु भएपछि मन्त्रालयले जिल्ला जिल्लामा परिपत्र गरेको छ ।

हालै जारी कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यान्वयनका लागि समेत निर्देशन आएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभयो ।

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ, बिना काम घर बाहिर निस्कनेलाई दुई सय रुपैयाँ तिराउने, अनुमतिबिना वा बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाए कार्वाही गर्नसक्ने अध्यादेशमा व्यवस्था छ । दुईपांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने उल्लेख छ ।

Back to top button