सभापति देउवाको नेतृत्वमा सरकार बन्छ : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्नु भएको छ ।

धारा ७६ को उपधारा (५) बमोजिम देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार पुष्टिका लागि हस्ताक्षर गर्नुभएका सांसदहरुले अदालत जाने तयारी गरिरहनु भएको हो ।

उहाँहरुले कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा रिट निवेदनको मस्यौदामा हस्ताक्षर गरिरहनु भएको कोइरालाले बताउनु भयो । बहुमत सांसदको हस्ताक्षरसहित गएपछि अदालतले सभापति देउवाको नेतृत्वमा सरकार गठन गर्न आदेश दिने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

देउवाले राष्ट्रपति कार्यालयमा १४९ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्नु भएको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले कसैको आधार नपुगेको निर्णय गर्नु भएको थियो ।

लगतै मध्यराती बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरी गरेको सिफारिसका आधारमा उहाँले प्रतिनिधिसभा विघटन र कार्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा गर्नु भएको छ ।

Back to top button