कोरोना महामारी र कोरोना राजनीतिका सन्दर्भमा

युवराज बास्कोटा ‘यज्ञ’,

यतिबेला अधिकांश देश–देशावरहरू कोरोना महामारीको जाँतोमुनि पिल्सिएका छन् । पोहोरसाल यता पहिलोपटकको प्रभावबाट अलि–अलि उठ्न लागेका देशहरू पनि यो दोस्रोपटक आइलागेको कोरोनाको फैलिँदो प्रकोपबाट आक्रान्त छन् । मूलतः कोरोनाकै कारण आफुलाई दुनियाँको एक्लो शक्ति ठान्ने हाम्रा सहयोगी देशहरूको पनि तेजोबध भएको छ ।

कोरोना संक्रमित र उपचार पाइरहेका मानिसको संख्या मात्र होइन, कोरोनाकै कारण पीडा प्रश्रव मृत्युवरण गर्नेको संख्या र सहज अन्त्येष्टि गर्न नपाइरहेको हृदय विदारक दृश्यचित्रहरू कहालीलाग्दो ढंगले विभिन्न सञ्चारमाध्यमहरूमा आउने गरेका छन् । विद्युतीय सञ्चारमाध्यमहरूले क्लिक गरिसक्दा हाम्रा आँखै अघि ल्याइदिने गरेको छ ।

निष्कर्ष के हो भने यतिबेला कोरोना विश्वव्यापी महामारीको रूपमा आएको छ । आणविक युद्धकै अर्को भयावह युद्धको रूपमा कोरोनाले हामीलाई जेलिरहेको छ । उन्मुक्तिको उपाय खोजिरहेका छौँ ।

जीवनका कैयौं असजिला र कतिपय कष्टकर सन्दर्भहरूसँग पौठेजोरी खेल्ने हामीहरू यसबेला कोरोनाको यो कहालीलाग्दो कहरका कारण खुम्चिएका छौँ । यो डरलाग्दो भाइरसको अत्यन्तै सुक्ष्मतम् पहिचान, ओखतीमूलोको प्रयोगसहित तत्काल रोकथाम र व्यवस्थापनसम्बन्धी विश्व स्वास्थ्य संगठनले निर्दिष्ट निष्कर्ष निकाल्न सकेको छैन ।

विश्व स्वास्थ्य संगठनले पनि नागरिक स्वयंमा सचेतना र सतर्कता सहित परस्पर सावधानीबाहेक केही भरपर्दो विकल्प अघि सार्न सकेको छैन । साझा अवधारणा समेत विकास हुन सकेको छैन ।

कुनै एउटा ठोस निष्कर्षमा पुग्न नसकिरहेको विश्व स्वास्थ्य संगठनले पनि परस्पर सावधानी अपनाउने कुरालाई मात्र अलिक बढी महत्त्व दिएको छ, अपरिहार्य गराएको छ । यसको अर्थ के पनि हो भने बिना कुनै अस्त्रशस्त्र नै मानव जीवनलाई सखाप पार्ने यो युद्धसमान भाइरसको सुक्ष्म पहिचान, रोकथाम र व्यवस्थापन यो युगको ठूलो चुनौतिको विषय बनेको छ ।

विश्व स्वास्थ्य संगठन र विभिन्न देश–देशावरका सरकारले महामारीविरूद्ध उभिन स्वास्थ्यसम्बन्धी बनाएका कैयौं मानकहरूलाई अनिवार्य पालना गर्दै उच्च सतर्कता र सावधानीका साथ युद्ध जित्नुपर्ने छ र यहिक्रममा यो भाइरसको सुक्ष्म पहिचान, रोकथाम र व्यवस्थापनमा सहयोग गर्नुपर्ने देखिन्छ ।

पूर्वीया जीवनदर्शनका अतिरिक्त वैश्विक बजारमा उपलब्ध अध्ययन–अनुसन्धानमा अगाडि, खोज–अनुसन्धानमा अगाडि, विज्ञान र यसको आविस्कारमा अगाडि, उपलब्ध विधि–प्रविधिमा अगाडि, विकसित प्रविधि पहुँचमा अगाडि, समुन्नत जीवनशैली निर्माण र सञ्चालनमा अगाडि देखिएका देश–देशावर नै कोरोना कहरबाट हायलकायल छन् भने हामीले यहाँ अब कोरोना चिन्यौँ, रोकथाम गर्न भ्यायौँ, नियन्त्रणमा लियौँ र अब त यसलाई परास्त गर्न सक्ने पराक्रमी भयौँ भन्नुले अहिले नै कुनै खास अर्थ राख्दैन । आफैंमा फुर्ति सिवाय यसले कुनै माने राख्दैन । सतर्क हुने र सावधानी अपनाउने विधिको विकल्प छैन ।

विश्वबजारमा प्रशिक्षित र परिक्षित ओखतीमूलो बनेकै छैन । ज्वरो आउँदाको अवस्थामा प्रयोग गरिने सामान्य ओखती र संक्रमितलाई अक्सिजनको मात्रा बढाउने उपायबाहेक खोपको प्रयोग पनि पूर्णतः सफल भएको छैन ।

हाम्रो आफ्नै अवस्था, स्थिति र सामथ्र्यका कारण नेपालमा हुने कुरा नै भएन । हामी अरूमाथि निर्भर रहने हो । आफैंमा पुग्दो उत्पादन छैन । भएको सबै यहाँ आयत हुँदैन । सरकार यो अवस्थाप्रति गम्भीर छ । विश्वबजारमा उपलब्ध ओखती, भ्याक्सिन, अक्सिजन ग्यास आदि ल्याउन र पुग्दो ढंगले यसको व्यवस्थापन गर्न विगत केही समययता सरकारले सम्पूर्ण ध्यान खर्चिएको छ ।

विकसित भनिएका अन्य–अन्य देश–देशावरमा झैँ जनधनको ठूलो क्षति नहोस् भनेर सरकार गम्भीरतापूर्वक निर्णय लिइरहेको छ । निर्णयहरू कार्यान्वयनमा आइरहेकै छन् । देशभित्रै अक्सिजन उत्पादन प्लान्टहरू सञ्चालनमै आइसके । ओखती र भ्याक्सिन उत्पादकसँग संवाद र सहकार्य भएकै छ ।

यी प्रयुक्त विषयहरूमा निसन्देह आममानिस जानकार छ,– हाम्रो समुच्य अवस्था, वस्तुस्थिति, नागरिक उपस्थिति र आधारभूत रूपमा सामथ्र्य अनुसार काम भएकै छ । तथापि, कोरोना राजनीति चाहिँ कोरोना निश्चित महामारीभन्दा बढी छ ।

कोरोना महामारीको विषयलाई राजनीतिक दाउपेच र प्रतिशोधको विषय बनाइयो भने अर्थात् संक्रमित परिस्थिति कोरोना राजनीतिको रूपमा उभियो भने यसले जनमानसमा ठूलो असर पार्ने, वितृष्णा फैलाउने, परस्पर छिमेकमै आक्रोश र उत्तेजना पोखापोख गर्ने, तीब्र महत्त्वाकांक्षाको चुल्होमा असन्तुष्टिको आगो सल्काउने निश्चित प्रायः छ । कोही संक्रमित भए उसलाई निराश, हतास र कुण्ठित पार्ने काम गरेको छ ।

संक्रमण र मृत्यु दरलाई हेर्दा मानिसको पैसा, पद र पावरले पनि ज्यान बचेको छैन । यस्तो बेलामा स्वयं सचेत र सतर्क रहन सकियो भने मात्र जीवन बाँच्न बचाउन सकिन्छ । अर्थात् उच्च सतर्कता र सावधानी पालना यसको पहिलो र अनिवार्य शर्त हो भन्ने कुरा व्यापक ढंगले आइरहेको छ । सबैका लागि लक डाउन यसैको उपज हो ।

परिस्थितिको यो जटिलतालाई हृदयंगम गर्दै अहिले कोरोनाविरूद्धको लडाइँ सँगसँगै लडौँ । कोरोना जितेपछि राजनीतिक लडाइँ लडौँला भन्न सकिएन र हाम्रोजस्तो भू–राजनीतिक प्रतिकूलतामा बाँचेको देशमा कोरोना–राजनीतिशास्त्र बन्यो भने यसबाट दिक्षित प्रशिक्षित अवस्थाको निर्माण आफैंमा कत्तिको ठीक हुन सक्ला ? अर्थात् कत्तिको प्रत्युत्पादक परिस्थिति निर्माण हुन्छ होला ? सचेत नागरिक स्वयंले अत्यन्तै जिम्मेवारीबोधका साथ सोच्नु आवश्यक छ ।

विद्युतीय मिडिया होस् वा सामाजिक सञ्जाल– यो बजारमा यतिबेला नानाथरिका कोरोना मत–मतान्तरहरू छरपस्ट छन् । सजिलो भएर हो कि राजनीतिका नाउँमा जे पनि भन्न छुट हुन्छ भनेर हो ? कोरोनासम्बन्धी आधारभूत कुरामा पनि सरकार र सरकारको भूमिका जोडिन्छ र अमर्यादित ढंगले यी मत–मतान्तरहरू पोखिने गरेको देखिन्छ, भेटिन्छ ।

एकथरि मत– स्वास्थ्यसम्बन्धी जारी आचारसंहितालाई हामी सबैले हुबहु परिपालना गर्नुपर्ने, संक्रमण नियन्त्रण–निवारण र व्यवस्थापनका लागि सरकारको भूमिकालाई अझ तीब्र ढंगले बढाउनुपर्ने र प्रभावकारी पार्नुपर्ने माग सहित यस प्रक्रियामा हामी सबै अनिवार्य सक्रिय सहयोगी हुनुपर्ने हुन्छ ।

केहीथरि मत– कोरोना आक्रमणबाट त्रसिद जनमानसलाई आक्रान्त तुल्याउने, आक्रोशित बनाउने, यो भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले बिल्कुलै केही नै गरेको छैन भन्ने आभास दिन खोज्ने र वर्तमान सरकार र यसको मूल नेतृत्वविरूद्ध जनमत तयार गर्ने अस्त्र बनेको देखिन्छ ।

यो सबै अभिव्यक्ति राजनीतिक प्रतिशोधभित्र लुकेको स्वार्थको पापड सेक्नुबाहेक केही होइन, लडाइँ जित्ने सन्दर्भमा यो किमार्थ राम्रो होइन । यसले संक्रमितको मनोवल उठाउँदैन । बरू घटाउछ ।

महामारीविरूद्ध मिलेर लडाइँ लडौँ । स्वास्थ्य संकटकाल लगाऔँ । विकास–निर्माणका काम छाडेर नागरिक स्वास्थप्रति ध्यान केन्द्रित गरौँ । आ–आफ्ना राजनीतिक प्लेटफर्महरूलाई यसतर्फ परिचालन गरौँ । अहिले सँगसँगै महामारीविरूद्ध लडौँ । अलिकपछि स्वस्थ्यकर जीवन पाएपछि राजनीतिक लडाइँ लडौँला । सरकार फेरबदल गरौँला । आलोपालो रसस्वादन गरौँला आदि–आदि कसैले भन्दैन ।

बरू कोरोना संक्रमण रोक्न गर्नु नहुने स्वास्थ्यसम्बन्धी आचारसंहितलाई तोड्दै नेतृत्व आन्दोलनमा जाने कुरा गर्छ । सदनबाट सम्भव नभए सडकबाट पद प्रतिष्ठा आर्जन गर्ने कुरा गर्छ । यस्तो बेलामा योभन्दा ठूलो विडम्बना के हुन सक्छ ? स्वास्थ्यसम्बन्धी उपकरण पुग्दो ढंगले जोहो छैन भने सरकारको यसतर्फ ध्यानाकर्षण गर्न गराउन सकिन्छ, भूमिका बढाउन सकिन्छ । भूमिकाको प्रभावकारिताका लागि भन्न सकिन्छ । यससम्बन्धी उपायहरू दिन सकिन्छ ।

सरकार यो मानवीय कर्तव्यबोधको पक्ष पूरा गर्न प्रयत्नशील छ र गर्छ । नागरिकको स्वास्थ्य र स्वस्थ्यकर जीवनका लागि गम्भीर छ । सरकारलाई झकझक्याउनु एउटा सचेत नागरिको जिम्मेवारी पनि हो । योबाहेक अनावश्यक ढंगले उछितो काड्ने, यसभित्र सरकार फेरबदलको अभिष्टता पूरा गर्ने खालका राजनीतिक नगरौं । संक्रमित हुन नदिन स्वयं सचेत रहौं र उच्च सतर्कता अपनाऔँ । कोरोना योग्यता होइन, व्यहोर्नुपर्ने हाम्रो वाध्यता हो । कोरोना–राजनीति नगरौँ ।

चितामा राखिएको आमाको शवसँगै भएको फूली–बुलाकी कसको हुने ? कुन भाइ छोरा–बुहारीको हुने कि छोरी–ज्वाइको हुने ? भनेर परिवार सदस्यमाझ भनाभन चर्किंदा मलाममा रहेका भद्रजनका लागि रूञ्चेहाँसो भएको र लालचभित्र गुम्सिएको मानवीय संवेदनशीलता नै ह्रास भएजस्तो व्यवहार यसबेला नगरौँ । कोरोना महामारीभन्दा बढी कोरोना राजनीति नगरौँ । उच्च मनोवलका साथ कोरोनालाई जित्न सकौँ भन्ने शुभेच्छा सहित सबैको स्वस्थकर दिनचर्या र समुन्नतिको हार्दिक शुभकामना ।

Back to top button