प्रदेश १ मा सिटामोलको कृत्रिम अभाव

डीएन पथिक,

विराटनगर । कोरोना महामारीले जनजीवन अस्तव्यस्त बनिरहेको बेला प्रदेश १ मा ज्वरोको औषधी सिटामोल अभाव भएको छ । विराटनगरलगायत प्रदेशभरि एक हप्तादेखि सिटामोल अभाव भएको हुन थालेको छ । महामारीको मौका छोपेर सिटामोल उत्पादक उद्योगीहरुले कृत्रिम अभाव गरेर मूल्य बढाउन दवाव सृजना गरेकाले सिटामोल अभाव भएको हो ।

नेपाल औषधी व्यवसायी संघ प्रदेश १ का उपाध्यक्ष तथा एपोलो फार्मेशीका सञ्चालक धनराज काफ्लेका अनुसार बजारमा सिटामोल अभाव भएकाले बिरामीको उपचारमा समस्या भएको छ । अहिले दैनिक १० देखि १५ जना उपभोक्ता सिटामोल नपाएर फार्मेशीबाट फकिर्ने गरेको उहाँले बताउनुभयो ।

कोरोना संक्रमण बढेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि सिटामोलको माग बढेको हो । ‘दुई हप्ता अगाडिदेखि सिटामोल खोज्न आउनेको संख्या ह्वात्तै बढेको छ, उहाँले भन्नुभयो, ‘तर अहिले सिटामोल पाएको छैन । होलसेलमा १०–१२ दिन भइसक्यो माग गरेको, त्यहाँ पनि छैन भन्ने आउछ ।’

नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष तथा ओम विराट औषधी पसलका सञ्चालक तथा लक्ष्मी तिम्सिनाले फार्मेसीहरूमा पछिल्लो समय सिटामोलको अभाव भएको बताउनुभयो ।

‘डिमान्ड थेग्नै नसक्ने छ तर, हप्ता दश दिनदेखि सिटामोल आएको छैन,’ उहाँले भन्नुभयो, ‘कुनै समय एकै दिनमा ५० देखि सय पत्तासम्म बेचियो । एकैजनाले १०–१५ पत्ता लगे । उपभोक्ताले अनावश्यक स्टोर गरेकाले पनि बजारमा सिटामोल सर्टेज भएको हो ।’

धेरैले कोभिड लागिहाल्यो भने चाहिन्छ भन्दै  सिटामोल थुपार्ने गरेको उहाँको बुझाई छ । सिटामोलसहित घाँटीको समस्या भइ खोकी लाग्दा खाने ‘एजिथ्रो माइसिन’ औषधी पनि अभाव हुन थालेको उहाँले बताउनु भयो ।

बजारमा सिटामोल अभाव भएको जनगुनासो आएपछि औषधि व्यवस्था विभाग विराटनगरले सुनसरी र मोरङका खुद्रा तथा थोक बिक्रेता पसलमा अनुगमन गरेको छ ।

७ वटा थोक बिक्रेताकोमा अनुगमन गर्दा एउटामा मात्रै थोरै सिटामोल फेला परेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले बताउनुभयो ।

उहाँले बजारमा सिटोमोल अभाव भएकाले आवश्यक व्यवस्था मिलाइदिन केन्द्रमा पत्राचार गरेको जानकारी दिनुभयो । उपभोक्ताहरुलाई पनि विभागले आवश्यकता अनुसार मात्रै सिटामोल खरिद गर्न आग्रह गरेको छ ।

औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीले सरकारले तोकेको रेटमा लागत मूल्य पनि नउठ्ने भएकाले उद्योगहरुले उत्पादन घटाएको र त्यसकै असर अहिले बजारमा सिटामोल अभाव भएको बताउनुभयो ।

‘राज्यले २०६४ सालमा तोकेको मुल्यमा नै अहिलेसम्म खरिद बिक्री भइरहेको छ,’ उहाँले भन्नुभयो‘ कच्चा पदार्थको मूल्य चार गुणाले बढिसकेकोले सिटामोल उत्पादन गरेर बिक्री गर्दा लागत मूल्य पनि उठ्दैन ।

‘एक–दुई महिनाको लागि हामीसँग कच्चा पदार्थ छ तर मुल्य समायोजन हुन सकेन भने महंगोमा कच्चा पदार्थ किनेर सस्तोमा बेच्न सक्ने अवस्थामा छैनौँ,’ उहाँले भन्नुभयो, ‘डेढ रुपैयाँ लागत लाग्ने सिटामोल एक रुपैयाँमा कसरी बेच्न सकिन्छ ।’

अहिले देशभरीमा ६३ वटा औषधी उद्योग छन् । ती मध्ये १०–१२ वटा उद्योगले सिटामोल उत्पादन गर्दै आएका छन् । सरकारले चाँडै मूल्य समायोजन नगरे मुलुकभरि सिटामोल पूर्णरुपमा अभाव हुने उहाँले चेतावनी दिनुभयो ।

Back to top button