सहयोगी संस्थालाई नेपाली युवा उद्यमी मञ्चको सहयोग

विराटनगर । कोभिड–१९ को संक्रमणलाई नियन्त्रणका लागि निरन्तर लम्बिदै गएपछि नेपाली युवा उद्यमी मञ्च विराटनगरले सहयोगी संस्थाहरुलाई सहयोग गरेको छ ।

लगातारको निषेधाज्ञाले प्रभावित अति विपन्न परिवारलाई खाना खुवाउने, संक्रमितका घरघरमा पुगेर सेनिटाइज गर्ने, संक्रमितको शव ब्यवस्थापन गर्ने तथा फ्रन्टलाईनमा खटिएकालाई सहयोग गर्न कृयाशिल संस्थाहरुलाई मञ्चले सहयोग गरेको हो ।

समाजसेवाकै लागि भन्दै एकपछि अर्को समूह हिड्दा भिड बढ्न सक्ने भन्दै मञ्चले कृयाशिल संस्थाहरुलाई नै सहयोग गरेको हो । मञ्चका अध्यक्ष युनेशराज श्रेष्ठले भन्नुभयो,‘ विपदको बेला क्षमता अनुशार सवैको योगदान हुनुपर्छ भनेर हामीले सहयोगी संस्थाहरुसँग हातेमालो गर्न खोजेका हौं ।’

मञ्चले विपन्नलाई खाना खुवाउने सस्थाका लागि खाद्यान्न, शव व्यवस्थापन गर्दै आएकाले स्वास्थ्य सावधानी अपनाउन चाहिने पीपीई लगायतका सामग्री र सेनिटाइज गर्दै आएको समूहलाई सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

मञ्चका कोषाध्यक्ष सञ्जिव सिग्देलका अनुशार १ हजार केजी चामल, २ सय केजी चना, १ सय केजी दाल, २ सय केजी चिउरा, १० लिटर तेललगायतका खाद्यसामग्री सहयोग गरेको छ ।

यस्तै १० हजार पीस मास्क, सय लिटर सेनिटाइजर, ३ सय जोडी पञ्जा , सय पीस फेस शिल्ड , १० सेट पीपीई , ८ सय ६४ पीस साबुनलगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो । कोषाध्यक्ष सिग्देलका अनुशार मञ्चले २ लाख ५० हजार मुल्य बराबरको सामग्री सहयोग गरेको हो ।

पछिल्लो समय रचनात्मक काम गर्दै आएको नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले फ्रन्टलाईनमा सक्रिय स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन अन्तरक्रिया अभियान समेत सञ्चालन गर्दै आएको छ ।

Back to top button