
विराटनगर । नेपाल स्काउट प्रदेश १ को आयोजनामा विराटनगरमा जारी शव व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा सहभागीहरुले समापन संगै शव व्यवस्थापन गर्ने जिम्मेवारी पाएका छन् । आज नै कोरोना संक्रमणबाट बेलबारीमा मृत्यु भएका एक व्यक्तिको शव व्यवस्थापन गर्नुपर्ने भएको बेलबारी नगरका स्काउट संयोजक बादल देवानले बताउनुभयो ।
स्काउट प्रदेश १ का संयोजक रवि खनालले मोरंगमा नेपाली सेनाको सहयोगमा १५ जना स्काउटका सदस्यलाई तालिम दिएर समूह समूहमा शव व्यवस्थापनमा खटाइएको बताउनु भयो ।
शव व्यवस्थापनका लागि जनशक्ति अभाव हुने अवस्था नाओस, शव व्यवस्थापनमा ढिलाइ नहोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संयोजक खनालले बताउनुभयो । उहाँका अनुशार तालिम लिएका मध्ये ११ जनालाई तीन समूहमा बाँडेर शव व्यवस्थापनमा खटाइएको हो ।
तालिमको समापन कार्यक्रममा कार्यक्रम संयोजक खनालले संकटको समयमा गैर सरकारी संस्था फिल्डमा न आएका बेला स्काउटले स्वयंसेवाका रूपमा कोरोनाको नियन्त्रण, रोकथाम र निदानमा काम गर्दै जनताको विश्वास जित्न सफल भएको बताउनुभयो ।
शव व्यवस्थापन तालिमलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीको सहयोगमा भैरव गण थलाहाको सह सेनानीको टोलीले सहजीकरण गरेको हो । तालिमपछी भैरव गणका सह सेनानी राजेन्द्रबहादुर खनालले तालिममा पाएको सीपलाई शव व्यवस्थापनमा कुशलता पूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।
स्काउट प्रदेश १ ले सुनसरी र झापामा पनि १५–१५ जनालाई शव व्यवस्थापन तालिम दिइरहेको संयोजक खनालले जानकारी दिनुभयो ।