कोरोना संक्रमण नियन्त्रणका लागि सहयोग गर्न आग्रह

सुनसरी । इटहरी उपमहानगरपालिकाले कोरोना नियन्त्रण र रोकथामका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ । उपमहानगरले आज सर्वपक्षीय भेला आयोजना गरी सहयोग गर्न आग्रह गरेको हो ।

उपमहानगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय भेलामा हालसम्म कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि भए गरेका कामको बारेमा जानकारी गराइएको थियो । यस्तै भेलामा प्रमुख चौधरीले स्वास्थ्य सर्तकता पालना गर्न गराउन र  कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सबैलाई सहयोगको लागि आह्वान गर्नुभयो ।

स्वास्थ्य शाखाका विकास पौडेलले महामारी नियन्त्रणका लागि पिसिआर र एन्टिजेन परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन र उपचार रणनीतिलगायतको बारेमा सर्वपक्षीय भेलामा जानकारी गराउनु भयो ।

प्रमुख चौधरीले कोरोना संक्रमण दर न्यूनीकरणका लागि पिसिआर परीक्षणको दायरा बढाउनुका साथै समुदायस्तरमा नै एन्टिजेन परीक्षण भइरहेको बताउनुभयो ।

‘कोरोना संक्रमण नियन्त्रण, रोकथाम र निदानका लागि काम गर्दै आए पनि स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञा पालनमा भइरहेको वेवास्ताले चेन ब्रेक हुन कठिन भएको छ,’ उहाँले भन्नुभयो, ‘कोरोना संक्रमणको चेन ब्रेकका लागि सबैलाई मर्यादित तरिकाले निषेधाज्ञाका साथै स्वास्थ्य सुरक्षा पालना गर्नुको विकल्प छैन ।’

अत्यावश्यक काम बाहेकको अवस्थामा घरमै बस्नका लागि सबैलाई आ–आफ्नो टोल छिमेकमा कडाई गरिदिन प्रमुख चौधरीले आग्रह गर्नुभयो ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना  गर्दै आयोजित भेलामा नेकपा एमालेका इटहरी अध्यक्ष याम सुव्वा, नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेल, नागरिक समाजका अध्यक्ष सन्त डुम्जन, पूर्व अध्यक्ष कमलेश पौडेल, रेडक्रसका सभापति विमल पौडेल, मुक्तिधाम ब्यवस्थापन समितिका अध्यक्ष हेम घिमिरेलगायतले कोरोना नियन्त्रण तथा रोकथामका लागि सुझाव दिनु भएको थियो ।

पीसीआर परीक्षण मेशिन खरिदका लागि सहयोग गर्ने र त्यसको सञ्चालन तथा व्यवस्थापन उपमहानगरले गर्नुपर्ने सर्वपक्षीय भेलाका सहभागीहरुले प्रस्ताव गर्नुभएको थियो ।

Back to top button