सिटिजन्स बैंकमा गाभियो सृजना फाइनान्स, आज अन्तिम सम्झौतामा हस्ताक्षर

विराटनगर । सिटिजन्स बैंकले विराटनगरमा रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (अधिग्रहण) गरेको छ । अधिग्रहण गर्ने अन्तिम सम्झौतापत्रमा आज दुवै संस्थाबिच हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जनाका सञ्चालक तथा मर्जर समितिका संयोजक सुवास आचार्यले हस्ताक्षर गर्नुभएको हो । चालू आर्थिक वर्षभित्र एकीकृत कारोबार सुरु हुने आचार्यले बताउनुभएको छ ।

दुबै संस्थाले आफ्नो विशेष साधारणसभाबाट अन्तिम सम्झौता पारित गर्ने छन् । सो सम्झौतालाई नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि एकीकृत कारोबार शुरु हुने आचार्यको भनाई छ । गएको माघ २८ गते दुई संस्थाले प्राप्तिका लागि प्रारम्भीक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सिर्जना फाइनान्सका लगानीकर्ताले सिटिजन्स बैंकमा १०० बराबर ९५ कित्ता सेयर पाउने छन । प्राप्तिपछि बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । सिर्जनालाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको निक्षेप परिचालन १ खर्ब ३७ अर्ब रुपैयाँ पुग्नेछ । कर्जा प्रवाह पनि १ खर्ब २१ अर्ब रुपैयाँ पुग्नेछ । बैंकको कुल शाखा संख्या १८९ हुनेछ ।

बैंकले प्रत्येक प्रदेशमा बलियो उपस्थिती जनाउन मर्जर र प्राप्ति प्रक्रियालाई जोड दिंदै आएको छ । ग्राहक संख्या बढेर १२ लाख पुग्नेछ ।
सञ्चालक पाण्डे सिटिजन्स बैंकको मर्जर समितिको संयोजक भएपछि उहाँको पहलमा यो सहित ३ वटा संस्थालाई अधिग्रहण गर्ने कार्य सम्पन्न भएको छ । उहाँको पहलमा सिटिजन्स बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको हो ।

अन्य बैंक तथा वित्तीय संस्थालाई मर्ज र प्राप्ति गरेर प्रत्येक प्रदेशमा सिटिजन्स बैंकको उपस्थिती बलियो बनाउने सञ्चालक पाण्डेको भनाई छ ।

यता सृजना फाइनान्सका तर्फबाट मर्जर समितिका संयोजक आचार्यले समयको माग र नियमनकारी निकाय राष्ट्रबैंकको निति अनुशार मर्जरमा गएको बताउनुभएको छ । यसले सृजना फाइनान्सका शेयरधनीलाई समेत दिर्घकालिन लाभ हुने उहाँले विश्वास ब्यक्त गर्नुभएको छ । संस्थाहरु मर्जर भई ठूलो संस्था बनेपछि सञ्चालन रिस्क न्यूनिकरण हुने र सफ्टवेयर तथा हार्डवेयरमा लगानी गर्न सक्षम हुने बताउनुभयो ।

Back to top button